
कात्तिक १८, चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको समयको सबैभन्दा ठूलो गल्ती भएको बताएका छन् ।
दिवाकर–तीर्थकुमार भुसाल स्मृति खुला भलिबल प्रतियोगिताको आज माडीमा उद्घाटन गर्दै उनले घटनाका दोषीलाई कारबाही गर्न त्यतिबेलै आफूले निर्देशन गरेर कारबाही गरिएको बताए । बाँदरमुढे घटनाबाट माओवादी निकै आलोचित बनेको माडीसहितको क्षेत्र समेटिएको चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्तापछि माडी पुगेका अध्यक्ष दाहालले अब बन्ने सरकारले बाँदरमुढे पीडितलाई सम्बोधन गर्ने बताए ।
उनले आफ्नो पूर्णकालीन राजनीति माडीबाटै शुरु गरेका थिए । घटनापछि दोस्रो पटक उनी माडी पुगेका हुन् । यसअघि २०६९ साल फागुन १७ गते माडी महोत्सव उद्घाटन गर्न उनी त्यहाँ पुगेका थिए । त्यतिबेला पीडितका लागि रु ६० लाखको एकमुष्ट राहत घोषणा गरेका थिए । दाहालले सो रकम जिल्लामा निकासा भए पनि सरकार परिवर्तनका कारण पीडितसमक्ष पुग्न नसकेको जनाउँदै अब बन्ने सरकारले पीडितलाई यथोचित सम्बोधन गर्ने बताए । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले दोषी ठहर गरे जोकोही पनि कारबाहीको भागीदार हुनेछन् भन्दै उनले दुई आयोगको ऐन संशोधन प्रक्रियाका कारण काम हुन नसकेको बताए ।
विसं २०६२ जेठ २३ गते माडीको बाँदरमुढे खोलामा सर्वसाधारण र नेपाली सेना चढेको बसमा माओवादीले एम्बुस विस्फोट गराउँदा ३८ जनाको मृत्यु भएको थियो भने ७२ जना घाइते भएका थिए । उक्त घटनाका घाइते अहिले पनि कतिपय उपचाररत छन् भने कतिपय अपाङ्ग अवस्थामा छन् । उक्त घटनापछि राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा माओवादीको चर्को आलोचना भएको थियो । माडीवासी निकुञ्जका कारण बढी समस्यामा रहेको भन्दै उहाँले निकुञ्ज हुँदै आवतजावतका लागि सुरुङ मार्ग वा आकाशे पुलमार्फत सडक निर्माण गरी समस्याको समाधान गरिने बताउनुभयो । आगामी पाँच वर्षभित्र अब बन्ने सरकारले सो समस्याको समाधान गर्ने उनले बताए ।
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्रप्रसाद पाण्डेले देशको वामपन्थी आन्दोलनलाई अगाडि बढाउन सक्ने नेतृत्व अब विकास हुने बताए । वाम एकतासँगै अब बन्ने सरकार स्थायी हुने र त्यसले मुलुकलाई समृद्धितर्फ लैजाने उनको भनाइ थियो ।
कार्यक्रममा माओवादी केन्द्रका नेता अमिक शेरचन, एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल, आज मात्रै राप्रपा (प्रजातान्त्रिक) चितवनका अध्यक्ष छाडेर माओवादी प्रवेश गरेका बद्री तिमिल्सिना लगायतले बोलेका थिए । सो अवसरमा तिमिल्सिनासँगै राप्रपा (प्रजातान्त्रिक) का ३१ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । (रासस)