टिकट नपाएपछि रातारात पार्टी परिवर्तन

१८ कार्तिक २०७४, शनिबार ०२:२६

कात्तिक १८, काठमाडौँ । आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा टिकट नपाएपछि संघीय समाजवादी पार्टी फोरम नेपाल तथा राष्ट्रिय जनता पार्टी (राजपा) का जिल्ला नेता तथा कार्यकर्ताले रातारात पार्टी परिवर्तन गरेका छन् ।

राजपाका महासचिव शिव पटेलले पार्टी परित्याग गरी प्रदेशसभा सदस्यका लागि स्वतन्त्र रूपमा पर्साको क्षेत्र नम्बर २ (ख) मा उम्मेदवारी दर्ता गराएका छन् । यस्तै राजपाकै महामन्त्री महम्मद कदम रसुलले पनि नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि पर्सा क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका छन् ।

यसैगरी चुनावै पिच्छे दल परिवर्तन गर्ने नेताका रूपमा परिचित वीरगन्जका पूर्व मेयर विमल श्रीवास्तवले पनि प्रतिनिधिसभा सदस्यका लागि पर्सा क्षेत्र नम्बर २ मा फोरम नेपालका तर्फबाट उम्मेदवारी दिएका छन् । यसअघि उनी स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरको मेयरमा फोरम लोकतान्त्रिकको तर्फबाट लडेका थिए । तर पराजित भएसँगै फोरम नेपालमा उनी प्रवेश गरेका थिए । आजको नेपाल समाचारपत्रमा खबर छ ।