काभ्रेमा वाम गठबन्धन बन्यो शक्तिशाली, लोकतान्त्रिकलाई ठूलो चुनौती

१५ कार्तिक २०७४, बुधबार ०२:०५

कात्तिक १५, काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लामा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले आसन्न संभीय प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा आ–आफ्नो वर्चश्व कायम गर्न घनिभूत रुपमा कसरत शुरू गरेका छन् ।

विगतमा सम्पन्न भएका केही निर्वाचन बाहेक अधिकांश निर्वाचनहरुमा वापन्थीहरुले कब्जा जमानउन सफल देखिएको काभ्रेमा दुई ठूला वामपन्थी दलहरुको गठबन्धनलाई शक्तिशाली उपस्थितिको रुपमा हेरिएको छ । वाम गठबन्धनबाट गठबन्धनमा समेल भएका दलका नेता–कार्यकर्तादेखि सामान्य जनतासम्ममा खुशीयाली देखिएको छ । उता वाम गठबन्धनको बलियो उपस्थितिबाट प्रतिष्पर्धामा देखिएको लोकतान्त्रिक गठबन्धनको अगुवा दल नेपाली काङ्ग्रेस भने आतंकित अवस्थामा स्थानीय स्तरका संगठनलाई मजवुत बनाउँदै कार्यकर्ता परिचालनमा होमिएको छ । वाम गठबन्धनको संयुक्त बैठकहरु धमाधम भइरहेको र निर्वाचनको प्रचार÷प्रशारलाई आक्रामक रुपमा कार्यकर्ताहरुलाई परिचालन गर्ने तयारी भइरहेको बैठकका सहभागी वाम गठबन्धनका जिल्ला नेताहरुले बताएका छन् ।

काभ्रेमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुबैले संगठन विस्तार, प्रचार÷प्रसार समिति, भ्रातृ संगठन परिचालन लगायतका कामलाई प्रभावकारी बनाएको बताएका छन् । जिल्लामा गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा वाम गठबन्धनले अधिकांश स्थानमा जित हासिल गरेको थियो । दुई ठूला वम गठबन्धनको मतलाई जोड्दा झण्डै छत्तीस हजार मत अन्तरले वाम गठबन्धनले लोकतान्त्रिक गठबन्धनलाई उछिनेको अवस्था विद्यमान छ ।

गत स्थानीय तहको निर्वाचनमा नेकपा एमाले एक्लैले ६८ हजार ६ सय ४७ मत ल्याएर पहिलो भएको थियो भने नेकपा माओवादी केन्द्रले ३० हजार ४ सय ४८ मत ल्याएको थियो । दुवै वाम दलको कूल मत ९९ हजार ९५ हुन्छ यस मतको विरुद्ध नेपाली लोकतान्त्रिक गठबन्धनको अगुवा दल कांग्रेसले ६३ हजार १ सय ३९ मत मात्र पाएको थियो ।काभ्रेमा रहेका सात स्थानीय तहमा एमाले, दुई स्थानीय तहमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । काभ्रेका तेह्र स्थानीय तहमध्ये नेपाली कांग्रेसले बाँकी रहेका चार तहमा जित निकाले पनि केही स्थानीय तहमा कांग्रेस अल्पमतमा रहेको छ । यसअनुसार काभ्रेका अधिकांश स्थानीय तहमा पनि वाम गठबन्धन नै हावी भएको देखिन्छ ।