वीपीको आदर्शतिर फर्किन कांग्रेसलाई प्रचण्डको सुझाव

१९ कार्तिक २०७४, आईतवार १४:१६

कात्तिक १९, चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहल (प्रचण्ड) ले नेपाली कांग्रेसका नेताहरुलाई आपसमा मिल्न र वीपी कोइरालाको आदर्शलाई अंगाल्न सुझाव दिएका छन् । वामपन्थी गठवन्धनबाट आतंकित नहुन पनि उनले आग्रह गरे ।

चितवनको चनौलीमा आइतबार पार्टी कार्यालय उदघाटन गर्दै प्रचण्डले कांग्रेस आफ्नै कारणले कमजोर हुँदै गएको बताए । उनले भने, ‘नेतृत्व संकटले कांग्रेस कमजोर बन्दैछ । तपाईंहरु पनि मिल्नुस् । बीपीको आदर्शतिर फर्किनुस् त्यो नै देश र कांग्रेसको पनि हितमा हुन्छ ।’

पूर्वप्रधानमन्त्री एवं चितवन क्षेत्र नं। ३ का उम्मेदवार समेत रहेका प्रचण्डले चितवनको अभिमत लिएर देशको नेतृत्व गर्ने अठोटका साथ आफू अघि बढेको बताए । स्थीर सरकारले मात्र दीगो विकास र समृद्धि हासिल गर्न सकिने भन्दै उनले त्यसैका लागि वाम गठवन्धन आवश्यक परेको प्रष्ट्याए ।

‘हामीले राजनीतिक स्थीरता खोजेका छौं, विकास खोजेका छौं,’ प्रचण्डले भने, ‘हामी स्थीर सरकार बनाएर देशलाई विकास र समृद्धिको नयाँ चरणमा लैजान चाहन्छौं ।’