७१ प्रतिशत महिलाले गर्भपतनलाई नै परिवार नियोजनका रुपमा लिँदा समस्या

३० कार्तिक २०७४, बिहीबार ०३:१७

कात्तिक ३०,काठमाडौ । महिलाले गर्भपतनलाई परिवार नियोजनका रुपमा नै लिँदै आएको एक तथ्याङ्कले देखाएको छ ।

स्वास्थ्य मन्त्रालय र न्यु एराले हरेक पाँच वर्षमा गर्ने जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणमा ७१ प्रतिशत महिलाले गर्भपतनलाई परिवार नियोजनका रुपमा लिएको पाईएको हो ।  सबैभन्दा वढि गर्भपतन गराउनेमा ३५ देखि ४९ वर्ष उमेर समुहका २७ प्रतिशत महिला रहेका छन् ।

 

२०११ देखि २०१६ सम्म पाँच वर्षको तथ्याङ्कअनुसार गर्भवती भएका ८१ प्रतिशतले जीवित बच्चालाई जन्मदिए भने नौ प्रतिशतले गर्भपतन गराएका थिए । एक प्रतिशतले मरेको बच्चा जन्माएको तथ्याङ्कले देखाएको छ । सम्पन्न परिवारका १६ प्रतिशत महिलाले गर्भपतन गराएको र पाँचौँपटक वा सोभन्दा बढी गर्भ धारण गरेकामध्ये २१ प्रतिशतले गर्भपतन गराउने गरेको परिवार महाशाखाका डा। शरद शर्माले बताए ।  उनले भने “पहिलोपटक गर्भधारण गरेकामध्ये दुई प्रतिशतले मात्र गर्भपतन गराउने गरेका छन् ।”

 

त्यसैगरी, गत पाँचवर्षको अवधिमा केही समयपछि बच्चा जन्माउन भन्दै गर्भपतन गराउने १२ प्रतिशत र नौ प्रतिशत महिलाले ढिलो गरी बच्चा जन्माउन गर्भपतन गराएको सर्वेक्षणका क्रममा पाइएको छ । अझैपनि नेपालमा ३ प्रतिशत महिलाले छोरी भएर गर्भपतन गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ । नेपालमा गर्भपतनको कानुनी मान्यता दिएपछि गर्भपतनलाई परिवार नियोजनका रुपमा लिने गरेको र अत्याधिक प्रयोग पनि बढेको डा।शर्माको भनाई छ । उक्त सर्वेक्षणअनुसार आधुनिक परिवार नियोजनको साधन प्रयोग गर्ने ५३ प्रतिशत मात्र छन् । सन् २०१६ को तथ्याङ्क सोमबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो । सन् १९९६ बाट शुरु गरिएको सर्वेक्षण यो पाँचौँ पटक गरिएको हो ।