सरकार र राजनीतिक दलद्वारा नै आचारसंहिता उल्लंघन

६ मंसिर २०७४, बुधबार ०१:१९

मंसिर ६, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनमा नेपाल सरकार, राजनीतिक दल तथा उम्मेद्वारहरुले नै निर्वाचन आचारसंचिताको उल्लंघन भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

तीन चरणमा भएको स्थानीय तहको निर्वाचनको अनुगमन प्रतिवेदन मंगलबार आयोगको कार्यालय हरिहर भवन ललितपुरमा सार्वजनिक गर्दै आयोगले राजनीतिक दलद्वारा निर्वाचन आचारसंहिताको उल्लंघन भएको जनाएको छ ।
आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले सार्वजनिक गरेको सो प्रतिवेदनमा राजनीतिक दलद्वारा बालबालिकालाई निर्वाचन प्रचार–प्रसार, जुलुस, सभा, सम्मेलन तथा भेलामा प्रयोग गर्ने गरिएको उल्लेख गरिएको छ ।

 

राजनीतिक विचार, आस्था, अभिव्यक्तिको आधारमा द्वन्द सिर्जना नगरी शान्ति, सुव्यवस्था कायम नराख्न, संयमित रहन तथा लोकतान्त्रिक मूल्य र मान्यताको अनुसरण गर्न आयोगले राजनीतिक दल तथा उम्मेद्वारलाई सुझाव समेत दिएको छ । निर्वाचन घोषणापत्रमा मानव अधिकारको स्थापित मूल्य, मान्यतालाई आत्मसात गरी सो अनुरुप कार्य गर्न राजनीतिक दल तथा उम्मेद्वारलाई सुझाव दिदैँ आयोगले निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न गराउन निर्वाचन आयोगलाई आचारसंहिता अनुगमन संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिएको छ ।

मतदाता शिक्षा पर्याप्त रुपमा ग्रामीण तहसम्म पुग्न नसेको कारण मतदाताहरु र निर्वाचनमा खटिएका कर्मचारीहरुमा समेत कतै कतै अन्यौल रहेको उल्लेख गर्दै प्रतिवेदनमा मतदाता शिक्षाको पर्याप्त र प्रभावकारी व्यवस्थ ागर्न निर्वाचन आयोगले सुझाव दिइएको छ । मतदानका दिन मतदान स्थलमा खानेपानी, शौचालय तथा प्राथमिक उपचारको उपयुक्त व्यवस्था हुन नसकेको आयोले जनाएको छ । मतपत्र र स्वस्तिक चिन्हको रंग एउँटै हुदा मतदाता र मतगणनामा खटिने व्यक्तिहरु अलमलमा परेका थिए ।–राजधानी दैनिक