मोफसलका स्रष्टा शिव अधिकारी (इलामे जेठो) का दुई ओटा मुक्तक संग्रह विमोचन

२ मंसिर २०७४, शनिबार १३:४४

मंसिर २, काठमाडौं । शनिबार राजधानीमा मोफसलका स्रष्टा शिव अधिकारी (इलामे जेठो) का दुई ओटा मुक्तक संग्रह विमोचन भएको छ ।

इलाममा बसेर साहित्य साधना गर्ने अधिकारीका झटारो र भद्रगोल शीर्षकका दुई मुक्तककृतिहरु कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक राजेन्द्र सुवेदीले बिमोचन गरे । अधिकारीको भद्रगोल कृतिमा ४७७ ओटा र झटारोमा ३२५ओटा मुक्तक रहेका छन् । विमोचित भद्रगोल कृतिमाथि बोल्दै युवा कवि एवम् समालोचक रमेश शुभेच्छुले राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक विसंगतिमाथि व्यड्ग्य गरिएको बताए ।

 

उनले मुक्तक उर्दु फारसीको रुवाईबाट प्रभावित विधा नभई संस्कृत साहित्य चिन्तनको लघु र लघुतम कविताको नेपाली प्रयोग विशेष भएको पनि बताए । इलाममा बसेर एकान्त साधना गरिरहेका बेला सँगै पढ्ने साथीका बुबाका रुपमा भेटेर परिचय भएका स्रष्टालाई राजधानीमा दुई कृतिसहित सार्वजनिक हुँदै गरेका बेला भेट्ता र उहाँकै बारे बोल्न पाउँदा गर्व लागेको भन्दै शुभेच्छुले थप सिर्जनशीलताको कामना पनि व्यक्त गरे । अर्को कृति झटारो माथि बोल्दै समालोचक डा. कुलराज निरौलाले अधिकारी समसामयिक प्रतिनिधि मुक्तककार भएको टिप्पणी गरे । प्रा. राजेन्द्र सुवेदीको प्रमुख आतिथ्य एवम् समाजका अध्यक्ष महेश प्रसाईँको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि सुवेदीले अधिकारीको सेवा निवृत्त जीवनको सिर्जनशील सामथ्र्यको प्रशंसा गर्दे थप सिर्जनशीलताको कामना गरे ।

 

उनले अधिकारीका मुक्तकहरु समसामयिक विषयवस्तु केन्द्रित रहेको बताए । उनले मुक्तककारले व्यस्त समयका पाठकको मन तान्ने र त्यसलाई बुझ्नु पर्ने सल्लाह पनि दिए । कार्यक्रमा अधिकारीको मुक्तककारिता र व्यक्तित्वबारे दिव्य गिरी, डा. केदार न्यौपाने र नेत्र न्यौपानेले बोलेका थिए । त्रिपुर साहित्य समाज ललितपुरद्धारा आयोजित सो कार्यक्रमका सभापतिको आसनबाट बोल्दै साहित्यकार महेश प्रसाईँले संस्थाको एउटा प्रमुख उद्देश्य शिव अधिकारी जस्तै मोफसलका स्रष्टालाई चिनाउँदै लैजाने बताए । अधिकारीका यसपूर्व दुई गजल संग्रह यथार्थता र धरतीको माटो एवम् एक मुक्तक संग्रह बुकी फूलको माला प्रकाशित भइसकेका छन् ।