मतदाता अधिकार संरक्षणको आग्रह

१० मंसिर २०७४, आईतवार ०२:३०


मंसिर १०, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि शान्ति सुरक्षालाई मजबुत बनाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न र मतदाताको अधिकारको वातावरण संरक्षण गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।

१० मंसिरमा प्रतिनिधिसभामा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनको पूर्वसन्ध्यामा शनिवार आयोगले राजनीतिक दललाई संयमित र शान्तिपूर्ण ढंगबाट निर्वाचन प्रक्रिया अगाडी बढाउन आग्रहसमेत गरेको छ । यस्तै सम्पूर्ण मतदाताहरुलाई निर्भयतापूर्वक आफ्नो मताधिकारको प्रयोग गर्न आयोगले विशेष आग्रह गरेको छ ।

 

आयोगले पहिलो चरणको निर्वाचनमा मानवअधिकारको दृष्टिकोणबाट अनुगमन गर्न ३२ जिल्लामध्ये २७ जिल्लामा अधिकृतसहितको टोली खटाइसकेको जनाएको छ । आयोगका ती टोलीले राजनीतिक दलहरुले शान्तिपूर्वक भेला गर्ने तथा विचार अभिव्यक्ति गर्न पाए÷नपाएको, राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग भए÷नभएको, मतदाता शिक्षा तथा नागरिक सचेतनाको अवस्थाको विषयमा अनुगमन गरिरहेको छ ।

दलहरुद्वारा निर्वाचनका समयमा हुन सक्ने मानवअधिकार हनन्, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यक लगायत सबै नागरिकले भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकारको सुनिश्चितता, मतदाता र उम्मेद्वारहरुको सुरक्षा र निर्वाचन आचारसंहितामा उल्लिखित मानवअधिकारसम्बन्धी विषयको पालना लगायतको अनुगमन गर्ने आयोगका सदस्य एवम् प्रवक्ता मोहना अन्सारीले बताईन् ।  –राजधानी दैनिक