प्रहरी अस्पतालमा आजबाट सर्वसाधारणको समेत उपचार

२६ कार्तिक २०७४, आईतवार ०३:२९

कात्तिक २६, काठमाडौं । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालले आइतबारदेखि सर्वसाधारणलाई समेत सेवा दिने भएको छ । यसअघि अस्पतालले बहालवाला तथा अवकाशप्राप्त प्रहरीलाई मात्र सेवा दिंदै आएको थियो।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले अस्पतालले सर्वसाधारणलाई दिने सेवाको आइतबार (आज) उद्घाटन गर्दै छन्। दुई वर्ष लामो गृहकार्यपछि प्रहरी अस्पतालले सर्वसाधारणलाई सेवा दिन लागेको हो।  अस्पतालमा जनशक्ति तथा भौतिक स्रोत–साधन थप गरेर सर्वसाधारणलाई पनि सेवा दिन लागिएको प्रशासन विभागका एआइजी माधव जोशीले बताए।

 

‘हामीले अत्याधुनिक ल्याब स्थापना गरिसकेका छौं’, उनले भने, ‘अस्पतालको बेड थप्ने प्रक्रिया पनि अघि बढिसकेको छ।’  तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले नेपाली सेना र नेपाल प्रहरीको अस्पतालबाट सर्वसाधारणलाई पनि उपचार सेवा दिलाउन पहल गरेका थिए। सेनाको अस्पतालले यसअघि नै सर्वसाधारणलाई सेवा दिन थालिसकेको छ।