नेपाल चीनको समृद्धिबाट लाभान्वित हुन सकोस्ः चिनियाँ राजदूत

२ मंसिर २०७४, शनिबार ०३:२८

मंसिर २, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत यु होङले चीनको विकास र समृद्धिबाट नेपालले फाइदा लिन सक्नुपर्ने बताएकी छन् । चीनको बृहत् आयोजना ‘वन बेल्ट वन रोड’ (ओबिओआर) अवधारणामा नेपाल पनि सहभागी भइसकेकाले आगामी दिनमा यसबाट लाभान्वित हुन नेपालले व्यापार, लगानी तथा सम्पर्क सञ्जाललगायत अरु पनि क्षेत्रमार्फत लाभान्वित हुनुपर्नेमा धारणा उनको धारणा छ ।

‘चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ कांग्रेस र चीन नेपाल सम्बन्ध’ विषयमा नेपालस्थित चिनियाँ दूतावासले शुक्रबार यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपाललाई चीनले समान व्यवहार, पारस्परिक सहयोग र साझा विकासका अवधारणाका साथ सहयोग गर्दै आएको जानकारी दिए ।   नेपाल पनि चीनको ओबिओआर आयोजनामा संलग्न हुनु, पछिल्लो समयमा नेपाल र चिनियाँ पक्षबाट उच्चस्तरीय भ्रमण आदानप्रदान हुनु, लगानी तथा नेपालमा रेलमार्ग निर्माणसम्बन्धी आयोजनाको सम्भाव्यताको अध्ययन हुनु, चीनमा पढ्न जाने विद्यार्थीको संख्या र नेपालमा आउने चिनियाँ पर्यटकको संख्यामा वृद्धि हुनुजस्ता कैयौँ अरु पनि कारणले चीन नेपाल सम्बन्ध पछिल्लो समय थप सुदृढ र सुमधुर हुँदै गएको उनले बताइन् ।

 

राजदूत युले तातोपानी नाका तथा अरनिको राजमार्गको सहज सञ्चालन दुई देशको व्यापार प्रवद्र्धन र सम्बन्धको विकासमा पनि महत्वपूर्ण पक्ष भएकाले यसका लागि चिनियाँ पक्षले काम गरिरहेको जानकारी दिइन् ।  चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ कांग्रेसपछि चीन आर्थिक, सामाजिक, सांस्कृतिक एवं अन्य विभिन्न हिसाबले नयाँ युगमा प्रवेश गरेको बताउँदै उनले यसबाट चीनको वैदेशिक सम्बन्धमा पनि नयाँ आयाम थपिने जानकारी दिइन् । रासस