चुनावपछि देश नयाँ युगतर्फ अघि बढ्ने दाबी : अध्यक्ष ओली

८ मंसिर २०७४, शुक्रबार ०४:२४

मंसिर ८, सुर्खेत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न चुनावपछि देश नयाँ युगतर्फ अघि बढ्ने बताएको छ । सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार आयोजित वाम गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले चुनावपछि स्थिर सरकार बन्ने भएकाले देशमा नयाँ युगको सुरुआत हुने जानकारी दिए ।

चुनावलगत्तै वामपन्थीको स्थायी सरकार बन्ने उहाँको उनको दाबी थियो । वामपन्थीको सरकार देश र जनताका लागि आवश्यक रहेको भन्दै अध्यक्ष ओलीले जनतालाई अधिकार सम्पन्न बनाउन स्थिर सरकार आवश्यक भएको औल्याए।  अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण चुनाव अगाडि नै गर्ने योजना भए पनि समय अभावका कारण चुनावपछि बहुमतको सरकार निर्माणसँगै हुने बताए । देशमा अप्ठ्यारो अवस्थामा भाग्ने नेता लोकतन्त्रका पक्षधर हुन नसक्ने चर्चा गर्दै उहाँले अब राष्ट्रियतालाई मजबुत बनाउन र नेपालीको शिर झुक्न नदिनेमा जोड दिए ।

माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले अहिलेसम्म अस्थिर सरकार भएका कारण देशमा असमानता भएको हो भन्दै चुनावपछि बन्ने स्थिर सरकारबाट नै देशमा समानतामुखी समाजवाद र समृद्धि हरेक जनताले महसुस गर्ने बताए । प्रतिनिधिसभाअन्तर्गत निर्वाचन क्षेत्र नं १ का वाम गठबन्धनका उम्मेदवार ध्रुवकुमार शाही, क्षेत्र नं २ का प्रदेशसभा (क) का उम्मेदवार यामलाल कँडेललगायतले वाम गठबन्धनलाई जिताउन सबै मतदातासँग आग्रह गरे । (रासस)