
मंसिर ३, काठमाण्डौं ।
अन्ततः अफगानिस्तानले एसीसी यू १९ युथ एसिया कपको उपाधी उचालेको छ । यसअघिको तीन संस्करणमा सेमिफाइनलमा पराजित भएको अफगानिस्तानले पाकिस्तानलाई फाइनल रनले पराजित गर्दै पहिलो पटक उपाधि हात पारेको हो ।
२४९ रनको लक्ष्य पछ्याएको पकिस्तानलाई ६३ रनमा अलआउट गर्दै अफगानिस्तानले ऐतिहासिक उपाधि दिएको हो । टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २४८ रन बनाएको थियो । अफगानिस्तानको लागि विकेटकिपर इक्राम अली खिलले नटआउट १०७ रन बनाएका थिए । यस्तै रहमानुल्लाह गुर्बाजले ४० तथा इब्राहिम जद्रानले ३६ रन जोडे । पाकिस्तानका मोहम्मद मुसाले ३ तथा साहिन साह अफ्रिदीले २ विकेट लिए । जवाफमा अफगानिस्तानको धारिलो बलिङसामु टिक्न नसकेको पाकिस्तान २२.१ ओभरमा ६३ रनमा अलआउट भयो । अफगानिस्तानका मुजिव उर रहेमानले ५ विकेट झारे। यस्तै क्वाएस अहमदले ३ विकेट लिए।पाकिस्तानका मोहम्मद तहाले १९ तथा मुहम्मद हसन खानले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन् । अफगानिस्तानले समूह चरणको पहिलो खेलमा पनि पाकिस्तानलाई ५७ रनमा अलआउट गरेको थियो । प्रतियोगिताभर कूल २० विकेट लिएका अफगानिस्तानका मुजिव उर रहेमान म्यान अफ दी सिरिज घोषित भए ।