कम्युनिष्टहरु जादुगर हो, भ्रममा नपर्नु : बाणिज्य मन्त्री विश्वकर्मा

१३ कार्तिक २०७४, सोमबार ०६:२४

कात्तिक १३, काभ्रे । नेपाली काँग्रेस काभ्रेको दलित शाखाले आइतबार आयोजना  गरेको एक दिवसीय प्रशिक्षण कार्यक्रम एबं दलित उमेदवार सम्मान तथा मितेरी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि मीन बहादुर बिश्वकर्माले कम्युनिष्टहरु जादुगर भएको बताए । जादुगरले खुट्टा दुखेको, छाती, टाउको दुखेको एउटै औषधी भन्दै खाली पानी बेचें झैं प्रत्येक निर्वाचनमा सपना बाड्दै हिडेकोले सचेत हुन नेपाली नागरिकलाई आग्रह गरे ।

नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले एक आपसमा मितेरी संम्बन्ध कायम गरेर नयाँ सन्देश दिएका छन् । कार्यक्रमको प्रारम्भमा बाणिज्य मन्त्री तथा काँग्रेस नेता मीन बहादुर बिश्वकर्माले नेपाली काँग्रेस काभ्रेका प्रशिक्षण शाखाका प्रमुख महेश पौडेलसँग टिका आदान प्रदान गरेर मितेरी मित लगाए ।  नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्यले दलित नेता रामी घतानीसँग मित लगाए त्यस्तै नेपाली काँग्रेस दलित शाखा प्रमुख दिनेश भुर्तेलले दलित नेता उस्पर सुनार, नेबिसंघका जिल्ला सचिब दिलिप आचार्यले नेबिसंघका केन्द्रिय उपाध्यक्ष सागर परियार, नेपाल महिला संघकी अध्यक्ष शुभलक्ष्मी मानन्धरले सुस्मिता परियारसँग, बाणिज्य मन्त्रिका स्वकिय सचिब टेक बहादुर बिश्वकर्माले राजकुमार उप्रेतीसँग मितेरी सम्बन्ध जोडेका थिए । कार्यक्रममा २१ जोडीले मितेरी सम्बन्ध गाँसेको कार्यक्रमका संयोजक एवं नेपाली काँग्रेस काभ्रेको दलित शाखा प्रमुख दिनेश भुर्तेलले जानकारी दिए ।

नेपाली काँग्रेसका जिल्ला सभापति मधु आचार्यले एमाले र माओबादीको तालमेल सत्ता प्राप्तीका लागी मात्र भएको भन्दै निर्वाचनपछि बिछोडमा परिणत हुने दाबी गरें । उनले कम्युनिष्टहरुको एकताले लोकतन्त्रबादी र अधिनायकबादीहरुको कित्ता स्पष्ट भएको बताए । अब एमाले र माओबादी लोकतन्त्रको बाटोबाट साम्यबादी बाटोतर्फ लागेको कुरा प्रष्ट पारे ।   उक्त कार्यक्रममा नेपाली काँग्रेसका नेता एबं पूर्ब मन्त्रि कचनचन्द्र बादेले नेपाली काँग्रेसले संबिधान दिएको, स्थानिय तहको निर्वाचन सम्पन्न गरेको र मधेशबादीहरुलाई समेत संबिधानको दायराभित्र ल्याउन सफल भएको पार्टी भएकाले काँग्रेसलाई सबैले साथ दिनुपर्नेमा जोड दिएका थिए ।

यसैगरी प्रशिक्षण शाखाका प्रमुख महेश पौडेलले एमाले र माओबादी बीचको तालमेल अष्ट्रेलिया जान गरिएको पेपर म्यारिज मात्र भएको बताए । उनले एमाले र माओबादी सगोत्री बिच भएको बिबाहले जायजन्म राम्रो नहुने भएकाले एकताको यात्रा कमजोर रहेको स्प्रष्ट पारेका थिए । नेपाली काँग्रेसका कार्यक्रममा नेपाली काँग्रेसका नेता कुमार लामीछाने, जिल्ला सदस्य एवं कार्यक्रम संयोजक दिनेश भुर्तेल, दलित नेतृ निर्मला परियार, रामेश्वर नेपाली लगायतले शुभ कामना मन्तब्य राखेका थिए ।   कार्यक्रममा स्थानिय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट जिल्लाभर उमेदवार बनेका सम्पूर्ण दलित महिलाहरुलाई सम्मान गरिएका थियो । दलित उमेदवारहरुलाई बाणिज्य मन्त्रि मिन बिश्वकर्मा र नेपाली काँग्रेसका जिल्ला सभापति मधु आचार्यले सम्मान पत्र प्रदान गरेका थिए ।