
कात्तिक १२, काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले जनताले जनप्रतिनिधीहरुलाई भोट दिने मात्र नभई स्थानीय विकासको लागि आदेश पनि दिनुपर्नेमा जोड दिईन् । मन्त्री बस्नेतले काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं. ५ मा आयोजित पृथ्वीनगर टोल सुधार समितिको उद्घाटन कार्यक्रममा बोल्दै पृथ्वि नगरको विकासको लागि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।
पूर्व साँसद तथा नेकपा (एमाले) का नेता रामेश्वर फूयाँलले नेपाल प्रकृतिले दिएको स्वर्ग भएकोमा जोड दिदैँ विकासको लागि सामाजिक विविधतालाई मिलाएर एकताबद्ध भएर अगाडी बढ्नु पर्ने आवश्यकता औंल्याए । नेपाली कांग्रेसका गोकर्णेश्वर नगरपालिकाका सभापति श्रीकृष्ण ज्योतीले विकासको भावना हरेक व्यक्तिमा मन भित्रैबाट जाग्नु पर्ने आवश्यकता रहेको भन्दै विकासको प्रभावकारी योजना बनाएर स्थानीय निकायसँग समन्वय गर्दै एकताबद्ध भएर अगाडी बढे स्थानीय विकास सार्थक हुने विश्वास व्यक्त गरे ।
नेकपा (माओवादी केन्द्र) का गोकर्णेश्वर नगर अध्यक्ष टि. आर. नेपालले आफ्नो गाउँ टोलको विकासका लागि एकताबद्ध भएकोमा पृथ्वीनगर टोलबासीलाई धन्यवाद दिए । त्यसै गरी माओवादी केन्द्रका इन्चार्ज कृष्ण के.सी.ले विकासका लागि स्थानीय जनता, राजनीतिक दलका प्रतिनिधी र स्थानीय निकाय बीचमा एकता र विकासप्रति गहिरो समपर्ण आवश्यक रहेको उल्लेख गरे ।
गोकर्णेश्वर नगरपालिका ५ मा अवस्थित पृथ्वीनगर टोलमा स्थापना गरिएको पृथ्वीनगर टोल सुधार समितिको उद्घाटन कार्यक्रमका सभापति तथा समितिका अध्यक्ष नविन ढुंगानाले समितिले स्थानीय विकासको लागि सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । पृथ्वीनगर टोल सुधार समिति ११ सदस्यीय रहेको छ भनें पृथ्वीनगर टोल सुधार समिति स्थापनाका लागि युवा समाजसेवी विक्रम पौडेल लगायत स्थानीय युवाहरुको सक्रिय भुमिका रहेको छ ।