रसुवामा ४० बर्षपछि जरायो नाच

९ कार्तिक २०७४, बिहीबार ०४:२३

कात्तिक ९, काठमाडौ । रसुवाको सदरमुकाम धुन्चेमा चार दशकपछि जरायो नाच देखाइएको छ ।

 

संरक्षणको अभावमा लोप हुन लागेको संस्कृतिलाई सदरमुकाम धुन्चेमा रहेका तामाङ समुदायले एक जुट भई नाच देखाएका हुन् । जरायो नाच अहिले युवाहरुको सकृयतामा ४० वर्षपछि देखाइएको हो । रसुवा संरक्षण तथा सांस्कृतिक कला समुह धुन्चेले तामाङ समुदायको चार वटा समुह बनाई नाच प्रस्तुत गरेका हुन । यो नाचमा वन्यजन्तु संरक्षणका लागि लामाले खेल्ने भूमिकाबारे प्रस्तुत गरिन्छ । तिब्बतीयन भाषामा स्यावा भनिने उक्त नाचलाई नेपालीमा जरायो भनिएको हो । यसमा लामा, झाँक्री र जरायोको मुख्य भूमिका हुन्छ ।

 

लामाले काटमार नगर्ने भएकाले सबै जनावरले लामाप्रति गर्ने विश्वास र सम्बन्ध देखाउने बिशेषताका लागि यो नाच सफल देखिन्छ ।  समुदाय, वडा तथा गाउँपालिकाको करिब चार लाख रुपैयाँको सहयोगमा लोप हुन लागेको रितिरिवाज, परम्परा, धर्म कला तथा र्संकृतिको जर्गेर्ना गरिएको छ । २०३५ सालसम्म हरेक वर्ष देखाइँदै आएको भए पनि त्यसपछिका दिनमा देखाउन छाडिए पछि नाच नै लोप हुने अवस्थामा पुगेको थियो ।