आज नेवार समुदायको मौलिक पर्व म्हःपूजा

३ कार्तिक २०७४, शुक्रबार १०:१४

३ कात्तिक काठमाडौं । नेवार समुदायले आज मौलिक पर्व म्हःपूजा मनाईदै छ । म्हःपूजाको शाब्दिक अर्थ शरीर पूजा हो । तिहारको चौथो दिन नेवार समुदायले आ-आफ्नो शरीर पूजा गर्दै म्हःपूजा पर्व मनाउने गर्दछन् । यस दिन नेवार समुदायले नेपाल संवत्को नयाँ वर्षका रुपमा समेत मनाउने गरेका छन् ।
म्हःपूजाका लागि तेलको घेरा, पीठो, अक्षता, लावा, मास र कालो भटमास लगायतको प्रयोग गरि मण्डप बनाउने गरिन्छ । मण्डप तयार भइसकेपछि घरको मूलीदेखि लस्करै मण्डप अघि घरपरिवारका सबै सदस्य बस्ने गर्दछ । त्यसअघि मण्डपमा बिमिरो, भोगटे, सुन्तला, ओखर, कटुस, स्याउ, अमला, मौसम, चाक्सी, हलुवावेद, बयर लगायतका फलफूल सजाइन्छ ।

म्हःपूजामा होस् या भाइटीका नेवार समुदायले विशेष खालको माला लगाउने गर्दछन् । सो माला काँचो धागोले बनाएको हुन्छ, जसलाई कोखा भनिन्छ । कोखा काँचो धागोमा रंङ्गीबिरङ्गी कपडाको टुक्रा राखेर बनाइने गर्दछ ।

म्हःपूजा गर्दा पहिले गणेशलाई पूजा गरिन्छ । यो पूजा घरको नकीं (मूली महिला)ले गर्ने परम्परा छ । यो पूजा गर्दा शरीरमा तीनपटकसम्म मुटुमारी ९चामलको रोटी० सहित पञ्चरङ्गी फूलका टुक्रा, अमला, ओखर आदि राखेर पूजा गरिन्छ । अनि टीका लगाई माला लगाइन्छ ।
आफूले मान्नुपर्नेसँग टीका लगाई फूलमाला पहिरी अण्डा, माछा र रक्सी सगुन हातमा लिएर खाने गरिन्छ ।

यो पूजा आफ्नो शरीरमा लागेको पाप र रोग आदि सबै नास होस्, आयु लामो होस् भन्ने कामनाका साथ गरिन्छ । पूजा गर्दा बलिराजालाई साक्षी राखी पूजा गरिन्छ । यो पूजा गर्नुअघि घरमा प्रयोग हुने कुचो, नाङ्लो, चुलो, गाग्रीलगायतका सामानलाई समेत पूजा गर्ने प्रचलन रहेको छ ।

सामान्यतया समाजशास्त्र र प्राकृतिक दृष्टिकोणले म्हःपूजा भन्नाले आत्मपूजाका रुपमा लिन सकिने पुरोहित तथा संस्कृतिकर्मी हरिशरण राजोपाध्याय बताउछन् । उनका अनुसार मानव समाजमा आत्मभन्दा ठूलो केही पनि छैन, यही आत्मालाई शान्ति र सन्तुष्टि मिलास् भनी म्हःपूजा गर्ने गरिन्छ ।

म्हःपूजा चेतनशील प्राणीले आफ्नो शरीरको रक्षा गर्न र शरीरलाई सधैँ स्वस्थ राख्न गर्ने भएकाले यसलाई सम्पूर्ण मानव समुदायले गर्नुपर्ने उनको भनाइ छ ।