तिहारमा टेलिकमको छुटैछुट, रिचार्ज गर्दा १० प्रतिशत बोनस

३१ आश्विन २०७४, मंगलवार १५:२५

असोज ३१, काठमाडौं । नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट दिने भएको छ ।

टेलिकमले जीएसएम र सीडीएमए प्रिपेड मोबाइल रिचार्ज गर्दा १० प्रतिशत बोनस उपलब्ध गराउने जनाएको छ ।  सो योजना बुधबार (भोलि) देखि आगामी शुक्रबारसम्म उपलब्ध हुने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।  यस्तै, टेलिकमकै नेटवर्कभित्र हुने एसएमएस सेवामा पनि ५० प्रतिशत छुट दिइनेछ ।

 

टेलिकमले यु–ट्यूब डाटा प्याकमा पनि छुट दिने भएको छ । रु १०० मा एक जीबी डाटा उपलब्ध गराउनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिन्छ ।   रु ६० मा ५०० एमबी डाटा भोल्यूम प्राप्त हुने र त्यसको अवधि १४ दिनको हुने टेलिकमले जनाएको छ । यस्तै, रु १० मा ११ मिनेट आफ्नै नेटवर्कभित्र कुराकानी गर्न सकिने र आधारभूत एवं सीडीएमए नेटवर्कभित्र रु २०० मा १७५ स्थानीय कल निःशुल्क उपलब्ध गराइएकोमा कात्तिक महिनाभर १०० स्थानीय कल थप गरी मासिक महसुलमा रु २७५ कल निःशुल्क उपलब्ध गराइनेछ ।कात्तिक महिनाभर फोरजी सिम निःशुल्क परिवर्तन गर्न सकिने टेलिकमले जनाएको छ । रासस