पाकिस्तान फुटबल फेडेरेसन (पिएफएफ) लाई आफ्नो सदस्यबाट निलम्वन

२३ आश्विन २०७४, सोमबार ०९:१८

असोज २६, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पिएफएफ) लाई आफ्नो सदस्यबाट निलम्वन गरेको छ ।

 

पाकिस्तानी फुटबल संघमा राजनीतिक हस्तक्षेप भएको भन्दै फिफा काउन्सिलले मंगलबार गरेको निर्णय अनुसार फिफाले पिएफएफलाई निलम्बन गरेको हो । पाकिस्तान पछिल्लो दुई वर्षयता अन्तर्राष्ट्रिय फुटबलमा निष्कृय रहेको छ भने कुनै पनि प्रतियोगितामा भाग लिएको छैन । पाकिस्तानी अदालतले नियुक्त गरेको फुटबल बडीले पिएफएफको कार्यालय र एकाउन्ट नियन्त्रण गरेको फिफा काउन्सिल ब्युरोको ठहर छ ।

 

निलम्वनपछि पिएफएफले फिफा स्ट्याटसको १३ नम्बर बुँदा अनुसार सबै अधिकार गुमाएको छ । फिफाको २ सय ११ सदस्य राष्ट्रमध्ये वरीयतामा पाकिस्तान २ सयौँ स्थानमा छ । सन् २०१५ को मार्चमा यमनसँग विश्वकप छनोट खेलेपछि पाकिस्तानले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । पाकिस्तानमा अहिले कुनै व्यावसायिक फुटबल लिग समेत छैन ।