नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय टेलिफोन कल अनुगमन गरिने

२१ आश्विन २०७४, शनिबार ०५:३४

असोज २१, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय तथा स्थानीय टेलिफोन कलको अनुगमन गरी त्यसको यकिन तथ्याङ्क राख्ने भएको छ ।

पछिल्लो समय विदेशबाट नेपाल भित्रिने टेलिफोन कल बापतको आम्दानी तुलनात्मक रूपमा कम हुँदै गएपछि प्राधिकरणले अन्तर्राष्ट्रिय तथा स्थानीय कलको ‘ट्राफिक’ अनुगमन गर्ने तयारी गरेको हो । यसका लागि प्राधिकरणले सेवा प्रदायकसँग सहकार्य गरी केन्द्रीय प्रणाली स्थापना गर्ने प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।

‘कल ट्राफिक अनुगमनका लागि आवश्यक हार्डवेयर र सफ्टवेयर प्रणाली जडान गर्न विदेशी परामर्शदातासँग आवेदन माग गरेका छौँ’ उनले भने । सञ्चालनमा रहेका छ ओटा दूरसञ्चार सेवा प्रदायकले अन्तर्राष्ट्रिय कल बापत प्राप्त गर्ने कुल आम्दानी गत वर्ष घटेको प्राधिकरणको तथ्याङ्क छ । यस सम्बन्धमा व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिको यही असोज ९ गते बसेको बैठकले चासो जनाउँदै अन्तर्राष्ट्रिय कलको अनुगमन गर्न निर्देशन पनि दिएको थियो ।

सफ्टवेयर जडानपछि अन्तर्राष्ट्रिय तथा स्थानीय कलको वास्तविक तथ्याङ्कसहित आम्दानी घट्नुको कारण पत्ता लाग्ने अर्यालले जानकारी दिनुभयो । ‘यदि कुनै सेवा प्रदायकले वास्तविक भन्दा कम मात्र कल देखाएर आम्दानी गरिरहेको छ भने त्यो पनि सफ्टवेयरले देखाउँछ’ उनले भने । अन्तर्राष्ट्रिय कल बापतको वास्तविक आम्दानी न्युन देखाएर राज्यलाई कम कर तिर्ने प्रवृत्ति यस्तो प्रणाली सञ्चालनमा आएपछि निरुत्साहित हुने उनको बुझाइ छ ।