३३ दलीय मोर्चा पनि वाम एकतामा, हँसिया–हथौडामा निर्वाचन लड्ने

१९ आश्विन २०७४, बिहीबार १४:११

असोज १९, काठमाडौं । साना पार्टीको ३३ दलीय मोर्चाले नेकपा माओवादी केन्द्रको निर्वाचन चिह्न हँसिया–हथौडामा आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन लड्ने भएका छन् ।

 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच निर्वाचनमा तालमेल र पार्टी एकताको निर्णय भएपछि मोर्चाका तर्फबाट बिहीबार सो निर्णय आएको हो । मोर्चाका तर्फबाट संयोजक युवराज सफलले अग्रगामी शक्तिकारुपमा वाम मोर्चा गठन गर्ने दुई ठूला पार्टीको निर्णयको स्वागत गर्दै माओवादी केन्द्रको निर्वाचन चिह्नमा निर्वाचनमा सहभागी हुने र चुनावी तालमेल गर्ने निर्णय भएको जानकारी दिए । उनले सम्पूर्ण देशभक्त र वामपन्थी शक्तिलाई बृहद् वाम एकताको पक्षमा उभिनसमेत आह्वान गरेका छन् । यस्तै, संसदमा क्रियाशील समाजवादी जनता दल र जनजागरण पार्टी नेपालले पनि माओवादी केन्द्रको निर्वाचन चिह्नमा नै निर्वाचनमा सहभागी हुने निर्णय गरेका छन् ।

प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता दल र लोकमणि ढकालको जनजागरण पार्टीको संसदमा एकरएक सदस्य छन् ।  उता, नेकपा संयुक्तले पनि माओवादी केन्द्रको निर्वाचन चिह्नमा नै निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । संयुक्तको बुधबारको बैठकले सो निर्णय गरेको नेता पदमराज जोशीले जानकारी दिए । संयुक्तले पनि बृहद् वाम एकतालाई सकारात्मकरुपमा लिँदै एकता प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ । रासस