राष्ट्रपति भण्डारीद्वारा वाइवाइ प्लान्टको उद्घाटन

१९ आश्विन २०७४, बिहीबार १३:४६

असोज १९, काठमाडौं । सर्वियाका राष्ट्रपति अलेक्जेण्डर भुचिसले आफ्नो देशको रुमामा स्थापित वाइवाइ चाउचाउ प्लान्टको उद्घाटन गरेका छन् ।

नेपाली लोकप्रिय ब्राण्ड वाइवाइलाई युरोपेली बजारमा उच्च महत्व दिँदै नव निर्मित प्लान्ट समुद्घाटनका लागि राष्ट्रपति भुचिस आफै सहभागी भएका थिए । यसअघि वाइवाइले सर्वियाको रुमास्थित प्लान्टबाट व्यवसायिक उत्पादन शुरु गरेको थियो । उक्त अवसरमा राष्ट्रपति भुचिसले सर्वियाको अर्थतन्त्रमा वाइवाइले सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरे ।  वाइवाइले सर्वियाको स्थानीय बजारको रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ ।

समुद्घाटन समारोहमा सिजी कर्प ग्लोबलका अध्यक्ष विनोद चौधरी, प्रवन्ध निर्देशक निर्वाण चौधरी एवं यस ग्रुपका उच्च पदस्थ अधिकारीहरूको उपस्थिती थियो । अध्यक्ष चौधरीले युरोपेली बजारमा वाइवाइ प्रवेशका लागि सर्विया प्रस्थान विन्दू बनेको बताउँदै वाइवाइको विश्वब्यापीकरण अभियानमा यो कोशेढुंगा सावित हुने विश्वास ब्यक्त गरे । अध्यक्ष चौधरीले सर्वियामा उत्पादित वाइवाइ युरोपभरको बजारमा वितरण हुने जानकारी दिए । कच्चा पदार्थ र दक्ष जनशक्तिको उपलव्धता एवं उत्पादनको लागत मूल्य लगायतको विश्लेषणका आधारमा उहाँले सर्विया आफ्नो ग्रुपका लागि युरोप प्रवेशको रणनीतिक केन्द्र बनेको पनि बताए ।

उक्त प्लान्टमा वाइवाइ उत्पादनका लागि हाल अन्तर्राष्ट्रिय बजारमा उपलब्ध पछिल्लो पुस्ताको मेशिनरी प्रयोग गरिएको छ । यस प्लान्टको उच्च व्यवस्थापनमा नेपाली व्यवस्थापकहरू रहेका छन् भने चार सयभन्दा बढी सर्वियाका स्थानीय नागरिकले रोजगारी प्राप्त गर्नेछन् ।
सिजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक निर्वाण चौधरीले रुमाबाट एक हजार किलोमिटरको दुरीभित्रै युरोपका थुप्रै ठूला बजारहरु रहेकाले यहाँ उत्पादित वाइवाइलाई युरोपको बजारमा प्रवेश गर्ने प्रवेशद्वारका रुपमा लिएको बताए ।

एसियामा लोकप्रिय ब्राण्डका रुपमा स्थापित वाइवाइ मध्यपूर्व र अमेरिकामा समेत लोकप्रिय खानाका रुपमा रुचाइँदै आएको छ । सर्वियाको सरकारी निकाय तथा स्थानीय प्रशासनको सहयोगले काम सुरु भएको १६ महिनाभित्रै प्लान्ट स्थापना भएको थियो ।
गत सेप्टेम्बरदेखि वाइवाइले उक्त प्लान्टबाट व्यवसायिक उत्पादन शुरू गरेको थियो । सीजी कर्प ग्लोबलले विश्वका ३० देशमा पूर्वाधार निर्माण, आतिथ्य सत्कार, वित्तीय क्षेत्र, खाद्य तथा पेय, इलेक्ट्रोनिक, जलविद्युत, शिक्षा लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ । थप नयाँ क्षेत्रमा लगानी विस्तारको क्रम जारी रहेको छ । सीजी कर्प ग्लोबलमा प्रत्यक्ष रुपमा दश हजार भन्दा बढी जनशक्ति कार्यरत रहेको छ । यस ग्रुपले विश्वब्यापी रुपमा १२२ कम्पनी र ७६ ओटा ब्राण्ड व्यवस्थापन गरिरहेको छ ।