५ जिल्ला बाहेक अन्य सबै क्षेत्रमा टुंगियो वाम गठबन्धनको भागबण्डा

१२ कार्तिक २०७४, आईतवार ०१:२७

कात्तिक १२, काठमाडौं । एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिले ११५ निर्वाचन क्षेत्रको बाँडफाँड टुंगो लगाएको छ। क्षेत्र बाँडफाँड कार्यदलका सदस्यसहितको समितिको शनिबार बसेको बैठकले ४० जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभाको क्षेत्र बाँडफाँड टुंगो लगाएको हो। अब पाँच जिल्लाका १३ क्षेत्रको मात्रै टुंगो लाग्न बाँकी छ।

बैठकमा क्षेत्र बाँडफाँड कार्यदलका सदस्यहरू पनि सहभागी थिए। एमालेले ६८, माओवादी केन्द्रले ३६, स्वतन्त्र १० र राष्ट्रिय जनमोर्चाले एक सिट लिने सहमति संयोजन समितिमा भएको छ। पहिलो चरणमा एमालेले २१ र माओवादीले १६ सिट लिने सहमति गरेका थिए। २१ मंसिरमा दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा निर्वाचन हुँदै छ। क्षेत्र बाँडफाँड टुंग्याएर प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार टुंगो लगाउने एमाले र माओवादी केन्द्रको तयारी छ। ‘पाँच जिल्लाबाहेक सबै क्षेत्रको टुंगो लागेको छ,’ एमाले नेता तथा कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले भने, ‘टुंगिएका क्षेत्रहरूमा उम्मेदवार टुंगो लगाउने गरी अब छलफल अघि बढ्नेछ।’ टुंगिन बाँकी जिल्लामा झापा र सुनसरीमा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ दुई÷दुई सिट दाबी गरेको छ।

उदयपुरमा प्रतिनिधिसभा र प्रदेश सभाको पनि टुंगो लागेको छैन। त्यस्तै, चितवन २ र सल्यानमा दुवै दलले प्रतिनिधिसभामा दाबी गरेका छन्। सल्यानको प्रतिनिधिसभा छाड्न तयार भए पनि एमालेले प्रदेश सभाको दुवै सिटमा अडान राखेको छ। त्यस्तै, महोत्तरी–१ प्रदेशतर्फको सिट पनि टुंगो लाग्न बाँकी छ। दाङ–२ माओवादीले लिने र प्रदेशमा एमाले नेता शंकर पोखरेलले उम्मेदवारी दिने गरी संयोजन समितिमा समझदारी बनेको छ। सो क्षेत्रबाट प्रतिनिधिसभामा माओवादी केन्द्रले नेता कृष्णबहादुर महरालाई अघि सार्ने तयारी गरेको छ। त्यस्तै, दैलेख र सुर्खेतमध्ये एउटा जिल्लामा माओवादी केन्द्रले प्रतिनिधिसभा पाउनुपर्ने अडान कायम राखेको छ। एमालेले भने सल्यान छाड्न तयार रहेको, तर पकड रहेको दुई जिल्लामा प्रतिनिधिसभा आफैँले राख्न पाउनुपर्ने अडान राखिरहेको छ। कार्यदलले काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको क्षेत्र बाँडफाँड टुंगो लगाएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये प्रतिनिधिसभातर्फ माओवादी केन्द्रले १, ८ र १० लिने, बाँकी सबै एमालेले लिने समझदारी भएको छ। त्यस्तै, भक्तपुरका दुवै क्षेत्र र ललितपुरको १ र २ एमालेले र ३ नम्बर क्षेत्र माओवादीले लिने समझदारी भएको नेताहरूले बताए। २ नम्बर प्रदेशमा १६–१६ सिट बराबरी भागबन्डा गर्ने समझदारी भएको छ। तेह्रथुम, धनकुटा, काभ्रे, मकावनपुर, नवलपरासी, पश्चिम नवलपरासी, रूपन्देही, कपिलवस्तु, बर्दिया, प्युठान र कैलालीका क्षेत्र बाँडफाँड टुंगिएको छ।  टुंगिन बाँकी जिल्ला झापा, सुनसरी, उदयपुर, चितवन र सल्यान रहेका छन् ।