१३ करोड १५ लाखको लागतमा इटहरीमा फोहर प्रशोधन केन्द्र निर्माण

२० आश्विन २०७४, शुक्रबार ०३:३३

असोज २०, काठमाडौं । फोहरमैला व्यवस्थापन तथा प्राविधिक स्रोत केन्द्र र नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहकार्यमा अर्थमन्त्रालयवाट प्राप्त रु १३ करोड १५ लाखको लागतमा इटहरी उपमहानगरपालिका–१० दुमोटक्का गाउँमा फोहरमैला प्रशोधन केन्द्र निर्माण भइरहेको छ ।

 

उपमहानगरको आफ्नै स्वामित्वमा रहेको पाँच बिगाहा जमिनको क्षेत्रका फोहरमैला प्रशोधन एवं व्यवस्थापनका लागि निर्माण कार्य भइरहेको तथा त्यस कार्यका लागि फोहरमैला व्यवस्थापन तथा प्राविधिक सहयोग केन्द्रले फोहरमैला जम्मा गर्ने सेड तयारीका लागिमात्र रु ५६ लाख सहयोग उपलब्ध गरेको इञ्जिनियर जीवन घिमिरेले जानकारी दिए।

यद्यपि उपमहानगरपालिकाले आफ्ना उपमहानगर क्षेत्रमा उत्पादन हुँदै आएको ३२ देखि ३५ मेट्रिक टन सड्ने र नसड्ने फोहर व्यवस्थापन गर्नका लागि फोहर व्यवस्थापनका लागि प्रशोधन केन्द्र बनाउने कार्यमा केही ढिलाइ गरेको गुनासो बढिरहेको छ । कोशी राजमार्गदेखि अढाइ किलोमिटर दुर्वतर्फ पक्की ढलसहित कालोपत्रे सडक निर्माणका लागि अर्थमन्त्रालयबाट विनियोजन भई आएको उक्त रकम आउन केही ढिला भएकाले फोहरमैला व्यवस्थापनस्थल निर्माणमा केही ढिलाइ हुन गएको बताइएको छ ।

 

कोशी राजमार्गदेखि फोहरमैला व्यवस्थापन निर्माणस्थलसम्मको भाग खाली गर्दा पनि केही समेत पर्खनु परेकाले पनि योजना निर्माणमा ढिलाइ हुन पुगेको पाइएको छ । उपमहानगरपालिकाका कार्यकारी अधिकृत सागर मिश्रका अनुसार ठूलो परिमाणमा फोहरमैला उत्पादन हुने गरेकाले उक्त स्थानमा जम्मा हुने फोहरमैलालाई जैविक र अजैविक छुट्याई कम्पोष्टिङ मल तयार गर्ने एवं वैकल्पिक ऊर्जासमेत उत्पादन गर्ने योजना रहेकाले काममा केही ढिलाइ भइरहेको हो । कुहिने तथा नकुहिने फोहर छुट्याउने र प्राङ्गारिक मलसमेत तयार गर्दै वैकल्पिक ऊर्जा उत्पादन कार्य पनि गर्ने गरी प्रशोधन केन्द्रलाई अत्याधुनिक प्रविधियुक्त बनाउने योजना थपिएकाले पनि उपमहानगरले परिकल्पना गरेको भन्दा केही अरु बढी समय लाग्न गएको पनि कार्यकारी अधिकृत मिश्रको भनाइ रहेको छ ।

 

ठूलो परिमाणमा वैकल्पिक ऊर्जा उत्पादनका लागि विश्व बैंकको सहयोग वैकल्पिक ऊर्जा कम्पनी र उपमहानगर एवं उक्त वैकल्पिक ऊर्जा उपकरणको उपलब्धता गराउने कम्पनीसमेतको गरी कुल रु १९ करोडको लगानीमा वैकल्पिक ऊर्जा उत्पादन समेतको प्लाण्ट जडान गरिने कारणले पनि काममा ढिलाइ हुनुको अर्को कारण बन्न पुगेको इञ्जिनियर जीवन घिमिरेको भनाइ रहेको छ । वैकल्पिक ऊर्जा जडानका लागि उपकरणसहित योजना निर्माण गर्ने कम्पनीले योजनाका विस्तृत योजना तयार पारिसकेकाले अब बाँकी काम चाँडै अघि बढ्ने र यो चालु आर्थिक वर्षभित्रमा नै सबै निर्माण कार्य सम्पन्न भई फोहरमैला व्यवस्थापन एवं प्रशोधन केन्द्र सञ्चालनमा आउने कार्यकारी अधिकृत मिश्र बताउँछन् ।

 

ठूलो परिमाणमा ऊर्जासमेत उत्पादनसँगै जैविक मल तयारी गर्ने कार्य समेत एकैचोटी अघि बढाइने भएकाले यो परियोजना सञ्चालनमा आउनासाथ इटहरी उपमहानगरमा उत्पादन हुने फोहरमैलाले मात्र योजना सञ्चालनका लागि फोहरमैलाको परिमाण कमी हुने भएकाले यस आसपासका नगरपालिकाबाट समेत फोहरमैला आयात गर्नुपर्ने अवस्था सिर्जना हुने कुरा पनि अहिले नै आँकलन गरिएको छ ।  यसअघि मोरङ जिल्लाको विराटनगरले फोहरमैला व्यवस्थापनका लागि फिनल्याण्ड र नेपाल सरकारको सहकार्यमा डङ्ग्राहामा रु ६० करोड बढीको लगानीमा ल्याण्डफिल्ड साइड बनाउने योजनासहित जग्गासमेत खरिद गरेको अवस्थामा स्थानीय आदिवासी जनजातिसँग कुरा नमिलेपछि योजना नै विफल बनेपछि पूर्वी नेपालमा यस प्रकारको व्यवस्थित फोहरमैला व्यवस्थापनका लागि इटहरीको यही एकमात्र योजनाले सफलता प्राप्त गर्ने देखिन आएको छ ।

यो फोहरमैला प्रशोधन केन्द्रले उत्पादन गर्ने वैकल्पिक ऊर्जा तथा प्राङ्गारिक मलसमेत उत्पादन हुने भएकाले यस क्षेत्रका किसानले स्वस्थ र अग्र्यानिक तरकारी वा कृषिजन्य उपभोग्य वस्तु उत्पादनमा पनि सकारात्मक प्रभाव बढ्न गई मानव जीवनमा समेत सकारात्मक सहयोग पुग्नसक्ने सम्भावना बढेर जाने विश्वास गरिएको छ ।