सिद्धार्थ राजमार्गमा ठूलो पहिरो सवारीसाधन ठप्प

१९ आश्विन २०७४, बिहीबार ०३:५५

असोज १९ ,  काठमाडौ।  सिद्धाथ राजमार्गको तानसेन–वुटवल सडक खण्ड अन्तर्गत तिनाउ गाउँपालिकाको दोभान तथा सिद्धबाबाको बिचमा ठूलो ढुंगा सहित आज बिहान ३ बजेतिर पहिरो खसेपछि बाटो अवरुद्ध भएको छ ।

दोभान प्रहरी चौकीदेखि ५ मिटर अगाडि राजमार्ग बन्द हुनेगरी ठूलो पहिरो खसेको छ । पहिरो खस्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन सुरु गर्न नसकिएको रुपन्देही जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रविण आचार्यले जानकारी दिनुभएको छ ।

सडकमा ठूला ठूला ढुंगासहितको पहिरो खसेको छ । सिद्धार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रु साथै र त्यसतर्फवाट बुटवल, भैरहवातर्फ जाने सवारीसाधन र यात्रु बाटोमै अलपत्र परेका छन् ।
एक सातादेखि नियमति यातायात सञ्चालन नहुँदा यात्रुहरुले सास्ती खेप्नु परेको छ । दोभानदेखि सिद्दबाबा क्षेत्रमा पानी पर्दा र घाम लाग्दा पनि दिनहुँ खस्ने पहिरोले राजमार्ग अवरुद्ध हुने गरेको छ ।

पहिरो खस्ने डरले हिजो बेलुका ८ बजेदेखि सवारीसाधन बन्द गरिएको सिद्धार्थ राजमार्गमा पुन ठूलो पहिरो खसेर सवारीसाधन सञ्चालन अवरुद्ध भएको हो ।