सिनेटर जेफ फ्लेकद्वारा राष्ट्रपति ट्रम्पको चर्को आलोचना

८ कार्तिक २०७४, बुधबार ०४:४०

कात्तिक ८, काठमाडौं । अमेरिकाका रिपब्लिकन सिनेटर जेफ फ्लेकले राष्ट्रपति डोनल्ड ट्रम्पको आलोचना गर्दै आफू पुनः निर्वाचनमा नजाने बताएका छन् ।

 

एरिजोनाका रिपब्लिकन सिनेटर फ्लेकले अमेरिकी सरकारको शीर्ष तहमा लापरबाह, अपमानजनक र अशोभनीय व्यवहार भएका व्यक्ति बस्नु प्रजातन्त्रका लागि खतरापूर्ण भएकोसमेत बताएका छन् ।  राष्ट्रपति ट्रम्पले आफूलाई गाली गर्दै विषाक्त भनेकोमा आपत्ति जनाउँदै सिनेटर फ्लेकले कडा अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।  यसअघि राष्ट्रपति ट्रम्प अर्का रिपब्लिकन सिनेटर बब कोर्करसँगको झगडामा समेत मुछिएका थिए ।  सिनेटको बैठकमा फ्लेकले आफ्नो निर्णय सुनाउनु अघि एरिजोनाको एउटा पत्रिकासँग वर्तमान रिपब्लिकन पार्टीको वातावरणमा आफ्ना लागि ठाउँ नभएको हुनसक्ने बताएका थिए ।

सिनेटमा उनले राष्ट्रपतिको आलोचना गर्दा आफूलाई खुशी नलागेको तर आलोचना गर्नु आफ्नो दायित्व र विवेक भएको जिकिर गरे ।  उनले प्रजातान्त्रिक मूल्य मान्यताको नियमित र आकस्मिक अबमूल्यन गरिँदा त्यसलाई स्वाभाविक मान्न नहुने बताए ।  राष्ट्रपति ट्रम्पले लामो समयदेखि फ्लेकलाई निस्कासन गर्न खोज्नुभएको थियो । उनलाई तल्लो तहबाटै बाहिर पार्न लाखौं रकम खर्च गर्ने प्रस्तावसमेत गरेको बताइएको छ ।(एजेन्सी)