‘शुभयात्रा’ को शुभ मूहुर्त (भिडियोसहित)

८ कार्तिक २०७४, बुधबार १०:२१

कात्तिक ८, काठमाडौँ । ट्राफिक सचेतना समेटिएको छोटो फिल्म शुभयात्रा सार्वजनिक भएको छ ।

यातायात व्यवस्था विभागका लागि शुभ मिडिया होमले फिल्म निर्माण गरेको हो । फिल्ममा हास्य टेलिश्रृंखला मेरी बास्सैका राजु पौडेल मास्टरको भूमिका देखिँदै आएका छन् । सोहि भूमिकाका कारण उनी दर्शकमाझ राजु मास्टर भनेर चिनिएका छन् । उनै राजु मास्टर चलचित्र शुभयात्रामा ड्राइभरको भूमिकामा देखिएका छन् ।

राजु मास्टरसँगै टेलिश्रृंखलामा देखिने मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) सहचालक बनेका छन् । यात्रुको सुरक्षा र अधिकारका बारेमा ख्याल गर्दा र ट्राफिक नियमको पालना गर्दा हुने फाइदालाई चलचित्रमा प्रस्तुत गरिएको छ । चलचित्रलाई सरोज ओलीले निर्देशन गरेका हुन् भने बल्छी र राजु मास्टरले चलचित्रको कथा लेखेका हुन् ।

चलचित्रमा बल्छी, राजु मास्टरसँगै शिवहरि आचार्य, रक्षा गुरागाईं, निरज बराल, सविता सापकोटा, बेवो आचार्यलगायतको अभिनय छ भने फिल्म २४ मिनेट लामो रहेको छ ।