राष्ट्रपति भण्डारीद्धारा दश विधेयक प्रमाणीकरण

२९ आश्विन २०७४, आईतवार ११:१७

२९ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११३ बमोजिम आज १० विधेयक प्रमाणीकरण गरेकि छिन् ।

व्यवस्थापिका–संसद्को बैठकबाट पारित राष्ट्रिय दलित आयोग विधेयक, २०७४, अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक, २०७४, स्थानीय सरकार सञ्चालन विधेयक, २०७४, थारु आयोग विधेयक, २०७४, प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४ राष्ट्रपतिले प्रमाणीकरण गरेका छन् ।

यसैगरी, उहाँले उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४, राष्ट्रिय महिला आयोग विधेयक, २०७४, मुस्लिम आयोग विधेयक, २०७४, कर्मचारी समायोजन विधेयक, २०७४ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७४ पनि प्रमाणीकरण गरेका हुन् ।