राजधानीमा रामायणको मिथक समेटिएको महाकाव्य कैकेयी सार्वजनिक (भिडियोसहित)

११ कार्तिक २०७४, शनिबार ११:१५

कात्तिक ११, काठमाडौँ । रामायणको मिथकमा आधारित महाकाव्य कैकेयीको राजधानीस्थित सर्वनाम थिएटरमा शनिबार लोकार्पण भएको छ । छन्द कवि गोविन्दराज विनोदीद्वारा लिखित उक्त महाकाव्यमा रामायणकी खल नारी पात्र कैकेयीलाई मुख्य पात्र बनाई एउटी आमाको मनोदशा उजागर गरिएको छ ।

कैकेयी महाकाव्य रामायणको एउटा मुख्य प्रसङ्ग भएको प्रमुख अतिथि तथा समीक्षक प्रा. डा. चुडामणि वन्धुले बताए । ‘राम कथा एउटा दक्षिण एसियाकै सबभन्दा व्यापक कथा हो’, उनले भने, ‘यसकै एक महत्वपूर्ण प्रसङ्गलाई लिएर कवि विनोदीले महाकाव्य रचना गर्नु भएको छ ।’

त्यस्तै समीक्षक प्रा. राजेन्द्र सुवेदीले कवि विनोदीको ‘कैकेयी’ महाकाव्य उपेक्षित नारी पात्रको भएको बताए । सुवेदीले महाकाव्यमाथि टिप्पणी गर्दै भने, ‘कवि विनोदीले अहिलेको सांस्कृतिक उपेक्षितताको सन्दर्भमा काम लाग्ने महाकाव्य लिएर आउनु भएको छ ।’ उनले कैकेयी औसत नारी पात्र भएको उल्लेख गर्दै धेरै पात्र भने अति मानव भएको बताए । ‘कैकेयी औसत नारी पात्रका रूपमा आएकी छ’, प्रा. सुवेदीले भने, ‘रामले गल्ती महसुस गरेको घटना उल्लेख गर्न सकेको भए उनलाई पनि औसत पात्र बनाउन सकिन्थ्यो तर राम अति मानवमै रहिरह्यो ।’

समीक्षात्मक टिप्पणी गर्दै कवि प्रभा भट्टराईले पुरुषहरू आफ्ना मात्रै कथा लेखिरहेका बेला काव्यकार विनोदीले नारीको अस्तित्वलाई समेटेर महाकाव्य रचना गरेको बताइन् ।

समारोहमा युवा छन्द कवि सुदेश सत्याल, मनोज भण्डारी लगायतले महाकाव्यको श्लोक वाचन गरेका थिए ।