बौद्ध प्रहरीको हिरासतबाट भागेका ठगुन्ना १० वर्षपछि पक्राउ

२० आश्विन २०७४, शुक्रबार ०३:०८

असोज २०, काठमाडौं । बौद्ध प्रहरीको हिरासत कक्षबाट १० वर्षअघि फरार भएका प्रकाश सिंह ठगुन्नालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले कन्चनपुरको भिमदत्तनगरपालिकाबाट ठगुन्नालाई पक्राउ गरेको हो । ठगुन्नालाई पक्राउ गर्न महाशाखाको इन्ट टोलीका प्रहरी निरीक्षक रोशन खड्कासहितको टोली कन्चनपुर पुगेको थियो ।  २०६४ साल असार २१ गते उनले मिश्रीमाया श्रेष्ठको हत्या गरेका थिए।  त्यसपछि पक्राउ परेका उनी २०६४ साउन १७ गते प्रहरी हिरासतबाट फरार भएका थिए। ड्युटीमा खटेका प्रहरी जवान कृष्णकुमार श्रेष्ठलाई एक लाख रुपैयाँ दिने लोभ देखाएर उनी भागेका थिए।

 

पछि श्रेष्ठ पक्राउ परेर ५ वर्ष जेल गएका थिए भने ठगुन्ना भागेर भारत पुगेका थिए। उनले एक दर्जनभन्दा बढी अपराध गरेका छन्, महाशाखाका प्रमुख दिवेश लोहनीले भने, भारत गएका उनी नेपाल आएर काम गर्न थालेपछि हामीले घरमा नै गएर पक्राउ गरेका हौं ।
हाल उनी ट्याक्टर चलाएर घरमै बस्दै आएका थिए ।  उनीमाथि बम विस्फोट, गोली हानेको, बलात्कार, चोरी डाँका गरेको आरोप लागेको छ। उनी नेपाल डिफेन्स नामक भुमिगत संगठनको सुटरसमेत रहेको प्रहरी रेर्कडमा देखिएको छ।