नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह बैठक सम्पन्न

२२ आश्विन २०७४, आईतवार १४:२३

काठमाडौँ, २२ असोज । नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न दुवै मुलुकद्वारा गठित प्रबुद्ध व्यक्ति समूहको पाँचौँ बैठक आज सम्पन्न भएको छ ।

दुई दिनसम्म यहाँ भएको बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि, सीमा व्यवस्थापन र सुरक्षा, जलस्रोत, दुवै मुलुकका राष्ट्रिय हितलगायतका विषयमा सौहार्द रुपमा छलफल भएको नेपाली समूहका संयोजक पूर्व परराष्ट्र मन्त्री डा भेषबहादुर थापाले जानकारी दिनुभयो ।

बैठकमा मैत्रीपूर्ण वातावरणमा छलफल भएको बताउँदै संयोजक डा थापाले भन्नुभयो, “शान्ति तथा मैत्री सन्धि यथास्थितिमा नरहने कुरामा हामी आश्वस्त छौँ । दश महिना कार्यकाल बाँकी छ तबसम्म निष्कर्षमा पुग्ने शुभ लक्षण देखिएको छ ।”

बैठकका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उहाँले द्विपक्षीय कुनै पनि विषयलाई अध्ययनका आधारमा नयाँ आयाम दिन पहल भइरहेको जानकारी दिनुभयो ।

हवाई मार्गबाट यात्रा गर्ने भारतीय र नेपाली नागरिकलाई परिचयपत्र अनिवार्य रहेको प्रसंग उल्लेख गर्दै संयोजक डा थापाले भन्नुभयो, “स्थलमार्ग भएर आवातजावत गर्न पनि परिचयपत्र आवश्यक पर्ने विषयमा विचारविमर्श भएको छ ।”

गठन कार्यादेशका आधारमा निष्कर्षमा पुगेर दुवै सरकारलाई सुझाव दिने समूहको जिम्मेवारी हो । त्यही अनुसार सबै बैठकमा छलफल भइरहेको समूहले जनाएको छ । यस बैठकमा सीमा व्यवस्थापन बढी सुरक्षित र सहज बनाउने विषयमा गहन छलफल भएको बताइएको छ ।

बैठकमा नेपाल–भारत जलस्रोत सहयोग एवं उपयोग सम्बन्धमा समीक्षासमेत भएको थियो । नेपाली समूहका सदस्य एवं सांसद डा राजन भट्टराईले सीमा विवाद समाधानका बारेमा समग्रतामा छलफल भएको बताउँदै अन्तर्राष्ट्रिय मान्यताका आधारमा सीमा व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

द्विपक्षीय व्यापारलाई सहज बनाउने सम्बन्धमा छलफल भएको बताउँदै सांसद भट्टराईले विद्यमान प्रावधानको समीक्षासहित समस्या समाधानका लागि आवश्यक छलफल भएको जानकारी दिनुभयो ।

समूहको आगामी बैठक नोभेम्बर ११ र १२ मा नयाँ दिल्लीमा बस्नेछ । प्रबुद्ध व्यक्ति समूहको अहिलेसम्म तीन बैठक नेपालमा र दुई बैठक भारतमा सम्पन्न भएका छन् । सन् २०१६ को जुलाईमा पहिलो बैठक बसेको समूहको कार्यकाल दुई वर्ष तोकिएको छ ।

बैठकमा नेपाली समूहका संयोजक थापा, सांसद भट्टराई, पूर्वमन्त्री नीलाम्बर आचार्य र पूर्वसचिव सूर्यनाथ उपाध्याय हुनुहुन्थ्यो भने भारतीय समूहका संयोजक एवं भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी, प्राध्यापकद्वय महेन्द्र पी लामा र भुवनचन्द्र उप्रेती हुनुहुन्छ । भारतीय समूहका एक सदस्य जयन्तप्रसाद भने अनुपस्थित हुनुहुन्थ्यो ।

द्विपक्षीय सम्बन्धका साथै नेपाल र भारतबीच सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धि र अन्य सन्धि सम्झौताको नवीकरण, तिनको परिमार्जन र सुधारका निम्ति सुझाव दिन प्रबुद्ध व्यक्ति समूह गठन गर्न दुवै मुलुकका प्रधानमन्त्रीबीच सहमति भए अनुसार समूह गठन भएको हो । रासस