निर्वाचन प्रभावित पार्ने कुनै काम नगर्न सरकारलाई प्रमुख प्रतिपक्ष दल एमालेको चेतावनी

२४ आश्विन २०७४, मंगलवार १६:१९

असोज २४, काठमाडौं । सरकारले घोषित मितिको पहिलो चरणको निर्वाचन सार्न राष्ट्रपति समक्ष अनौपचारिक प्रस्ताव गरेको सार्वजनिक भएपछि निर्वाचन प्रभावित हुने कुनै काम नगर्न प्रमुख प्रतिपक्ष एमालेले सरकारलाई चेतावनी दिएको छ।

मंगलबार बसेको एमाले स्थायी कमिटीको बैठकले निर्वाचन प्रभावित हुने कुनै पनि क्रियाकलाप नगर्न सरकारलाई चेतावनी दिएको हो। ‘निर्वाचन प्रभावित पार्ने कुनै पनि कामले मुलुकलाई फाइदा गर्दैन,’ बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले संचारकर्मीसँग भने, ‘सरकारले निर्वाचन सार्ने काम नगरोस्। निर्वाचन सार्ने काम जनताको भावना विपरित हुन्छ। कसैले निर्वाचन गर्ने कुरा सोचेको छ भने, जहाँ सोचेको छ, त्यही बिर्को लगाए हुन्छ।’

एमालेले निर्वाचन अगाडि मन्त्रिमण्डले पुर्नगठन गर्न नहुने अडान पनि राखेको छ। एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेलको घोषणा गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुर्नगठन गर्ने समाचार सार्वजनिक भएको छ।

सोमबार मात्रै राप्रपाले सरकारलाई समर्थन गरेको पत्र बुझाएको छ। एमालेले भने निर्वाचन घोषणा भइसकेको र आचार संंहितसमेत लागू भइसकेको अवस्थामा मन्त्रिमण्डल विस्तार आफूहरुलाई मान्य नहुने जनाएको छ। ‘निर्वाचनको मिति घोषणा भइ आचार संहितासमेत लागू भइसकेको अवस्थमा मन्त्रिमण्डल पुर्नगठनको कुरा हामीलाई मान्य हुँदैन,’ रावलले भने, ‘कुनै पनि वहानमा निर्वाचनलाई प्रभावित पार्ने क्रियाकलापको विपक्षमा एमाले रहेको छ।’

यसैगरी बैठकले निर्वाचन परिचालनको समग्र संयोजनको जिम्मा अध्यक्ष केपी ओलीलाई दिएको छ। यसैगरी उम्मेद्वारको छानविन गरी प्रक्रियामा लैजाने सहमति भएको रावलले जानकारी दिए। उम्मेद्वार छनौट प्रक्रियामा कुनै विवाद नरहेको भन्दै असोज २९ गते समानुपातिक तर्फको बन्दीसूचि निर्वाचन आयोगमा बुझाउने रावलले जनाए।

बैठकले वामपन्थीबीच एकता गर्ने नीति अनुसार अन्य दलसँगको छलफललाई निरन्तरता दिँदै चाँदै टुंगोमा पुर्याउने निर्णयसमेत गरेको छ।

त्यस्तै बैठकले सोमबार गोली लागेर ज्यान गुमाएका व्यवसायी शरदकुमार गौचनको हत्याको भत्सर्ना समेत गरेको छ। समसामायिक राजनीतिक मुद्दा तथा सिट बाँटफाँटका विषयमा छलफल गर्न बसेको बैठकमा सहमति जुटन नसकेपछि असोज २६ गते अर्को बैठक बस्ने गरी सम्पन्न भएको हो।