कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन, ७ सदस्यीय कार्यदल गठन

१९ आश्विन २०७४, बिहीबार ०४:०२

असोज १९, काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्नका लागि कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउन ६ दल सहमत भएका छन् ।

कांग्रेससहित ६ दलबीच आगामी चुनावमा सहकार्य गर्न ७ सदस्यीय कार्यदल बनाउने सहमति भएको हो । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल र पार्टी एकता घोषणा गर्ने भएपछि कांग्रेसले पनि यस्तो पहल थालेको हो । कांग्रेसले राजपा, संघीय समाजवादी पार्टी, राप्रपा, राप्रपा प्रजातान्त्रिक र नेपाल लोकतान्त्रिक फोरमबीच कार्यदल बनाएर अघि बढ्ने निर्णय गरेलगत्तै बसेको ६ दलको बैठकले गठबन्धन बनाउने निर्णय गरेको हो ।

 

त्यसका लागि ७ सदस्यीय कार्यदल बनाइने भएको छ । कार्यदलमा कांग्रेसबाट २ जना, अन्य दलबाट १, १ जना सहभागी हुने आजैदेखि विस्तृत छलफल गरेर अघि बढ्ने निर्णय भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।