अमेरिकामा दशैँतिहार सांस्कृतिक कार्यक्रम सम्पन्न

२७ आश्विन २०७४, शुक्रबार १४:२०

असोज २७, वासिङ्टन डिसी । अमेरिकाको मेरिल्याण्डमा रहेको नेपालीको पुरानो संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका बानाले चर्चित कलाकारका साथमा हालै ‘दशैँ तिहार धमाका–२०१७’ सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

 

दशैँ तथा तिहारको अवसरमा आयोजित उक्त कार्यक्रममा मेरिल्याण्डमा बस्दै आएका नेपाली सिनेजगतका चर्चित कलाकार समेतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।  बुधबार आयोजित कार्यक्रममा चर्चित नेपाली नायक दिलीप रायमाझी, ख्यातिप्राप्त गायक शिव परियारसँगै चर्चित नृत्य निर्देशक तथा मोडल शंकर बिसी तथा नृत्यकार पार्वती राई र नायिका ऋचा घिमिरेले समेत आफ्नो प्रस्तुती प्रदर्शन गरेका थिए ।  साथमा स्थानीय कलाकारको बेजोड प्रस्तुतिसँगै मौलिक नेपाली नृत्य, देउसीभैलो, नेवारी नाच प्रस्तुतिले कार्यक्रम थप मनोरंजनमय भएको थियो ।

कार्यक्रममा बोल्दै न्यूयोर्कका लागि नेपालका महावाणिज्यदूत मधुकुमार मरासिनीले अमेरिकामा रहेर कला, भाषा र संस्कृतिको जगेर्ना गर्न यस्तो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।   उक्त कार्यक्रममा समाजसेवी तथा बाल्टिमोर काउन्टी डेमोक्रेटिक पार्टीका रवि लियनार्ड, एचबी भण्डारी, नासो कम्युनिटीका अध्यक्ष गोपाल विक, संस्थाकी अध्यक्ष अनु श्रेष्ठ वन्त, कुलमणि आचार्य, प्रभु थापा, संस्थाका उपाध्यक्ष सुवोधविलास पन्तलगायतले आफ्नो धारणा राख्नुभएको थियो । रासस