हङकङसँगको खेलअघि विशेष प्रशिक्षणका लागि राष्ट्रिय क्रिकेट टोली भारत जाँदै

१ आश्विन २०७४, आईतवार ०२:५३

असोज १, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँगको खेलअघि नेपाली राष्ट्रिय क्रिकेट टोली विशेष प्रशिक्षणको लागि आज भारततर्फ जाँदैछ ।

कप्तान पारस खड्काको नेतृत्वमा रहेको नेपाली अहिले केहीबेरपछि चेन्नेइ प्रस्थान गर्नेछ ।

भारतमा रहँदा नेपाली टोलीले प्रशिक्षणका साथै स्थानीय क्लबहरुसँग अभ्यास खेल खेल्नछ । नेपाली टोलीले त्यहाँ चार खेल खेल्नेछन् । आगामी सेप्टेम्बर २७ मा स्वदेश फर्कने नेपाली टोलीले भारतका स्थानीय क्लबहरुसँग सेप्टेम्बर १९,२१,२३ र २५ मा अभ्यास खेल खेल्नेछन् ।

नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैठौ चरणको खेल अन्तर्गत हङकङसँग उसैको घरेलु मैदानमा आगामी अक्टोबर १३ र १५ तारिखमा खेल्दैछ ।
च्याम्पियनसिपमा नेपाल छैटौँ स्थानमा रहेको छ । नेपालले १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजित हुँदै ८ अंक जोडेको छ । च्याम्पियनसिपमा हङकङ चौथो स्थानमा रहेको छ ।

हङकङको १० खेलबाट ११ अंक रहेको छ । च्याम्पियनसिपको शीर्ष स्थानमा नेदरल्याण्ड, दोस्रोमा पपुवा न्युगिनी र तेस्रो स्थानमा स्कटल्याण्ड रहेका छन् । नेपाल अन्तिम ४ मा पर्दै विश्वकप छनोटमा स्थान बनाउनका लागि हङकङलाई पराजित गर्नैपर्ने हुन्छ । नेपालले हङकङपछि आफ्नो अन्तिम खेल युएईसँग खेल्नेछ ।

हङकङसँगको खेलका लागि १८ सदसिय नेपाली टिमको घोषणा भइसकेको छ । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले नेपाली क्रिकेट टिमका खेलाडी छनोट गरेका हुन् । नेपाली टोलीको अन्तिम छनोट भने भारतबाट फर्किएपछि हुने छ ।

भारत जाने नेपाली टोली ः

पारस खड्का (कप्तान)

ज्ञानेन्द्र मल्ल (उपकप्तान)

शरद भेषवाकर

बसन्त रेग्मी

मेहबुब आलम

सोमपाल कामी

सागर पुन

विनोद भण्डारी

करण केसी

जितेन्द्र मुखिया

शुशिल कंडेल

सन्दिप लामिछाने

कुशल भुर्तेल

सुसन भारी

नरेश बुढाएर

आरिफ शेख

दिपेन्द्र सिंह ऐरी