जागिरको नयाँ संस्करण

                                                   
त्यसै मन लोभिएर आउँथ्यो कोही जागिरे मानिस देख्नासाथ.……… ।

कल्पना गर्थेँ स्कुल पढ्दैदेखि जागिरको । लाग्थ्यो भए डक्टर नभए मास्टर । थाहा पनि थिएन अरु जागिर हुन्छन् भनेर ।
अलिपछि थाहा भयो जागिर त केके हुँदा रहेछन् रहेछन् । पिउनदेखि पाले, मुखिया, डिट्ठा, खरदार, सरदार, सुब्बा, शाखा अधिकृत अधिकृत, उपसचिव , सहसचिव, सचिव, पिए, सिए, ड्राइभर, उपड्राइभर, सहड्र्राइभर, प्रहरी, हवल्दार, सही असही । इनिस्पेक्छर, लेप्टिनेन्ट, इ आइजी, एआइजी, डी आइजी, आइजी, निरिक्षक, उपरीक्षक, परीक्षक, रक्षक, भक्षक, रथि, उपरथि, महारथि केके हुँदो रहेछ रहेछ । अर्को जागिर खुल्दो रहेछ मेयर उपमेयर, अध्यक्ष उपाध्यक्ष, संसद, मन्त्री, आधा मन्त्री फुलमन्त्री, सहायक मन्त्री, सहमन्त्री,उपमन्त्री प्रधानमन्त्री, उपप्रधान मन्त्री, उपउपप्रधानमन्त्री, उपप्रधान तथा केजाति मन्त्री, विनाविभागीय मन्त्री केके हो केके ।

 

यस्ता जागिरका लागि पाटिगत अभ्यास चाहिँदो रहेछ । अभ्यासका क्रममा थाहा भयो पाटीमा पद उत्तिकै हुँदा रहेछन् । अध्यक्ष, सहअध्यक्ष, उपअध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सहायक वरिष्ठ उपाध्यक्ष, सहउपाध्यक्ष, कनिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, दलित उपाध्यक्ष, आदिवासी उपाध्यक्ष, पूर्वको क्षेत्रीय उपाध्यक्ष, पश्चिमको उपाध्यक्ष, उत्तरको उपाध्यक्ष, दक्षिणको उपाध्यक्ष, मधेसको उपाध्यक्ष, पहाडको उपाध्यक्ष, हिमाली उपाध्यक्ष,चुरेली उपाध्यक्ष, उपत्याकाली उपाध्यक्ष, महासचिव, मूलसचिव, विशेष सचिव, सहसचिव, उपसचिव, सहायक सचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, उपकोशाध्यक्ष, सहकोषाध्यक्ष केके हो केके रु सदस्यका पनि तह तह हुँदा रहेछन् । वरिष्ठ सदस्य कनिष्ठ सदस्य , संरक्षक सदस्य, आजीवन सदस्य, जीवनपर्यन्त सदस्य, आधाजीवन सदस्य, लाख दिनेवाला सदस्य, हजार दिजेवाला सदस्य करोडदिनेवाला सदस्यदेखि सय दिनेवाला सदस्य सम्म ।

अलमल परियो जीवनको आधाबाटोमा आएर। अब के बन्ने गाँठे रु यत्रा पद छन्, उपपद छन् र जताततै जागिर छ भन्ने थाहा पाएको भए प्राविकै हेडसरलाई सोधेर निधो पार्थेँ नि । अब कसलाई सोध्ने । माविका हेडसर पनि मरिगए बुढा । क्याम्पसका सरै चिनिएन । अब के गर्ने होला रु
मलाई कुन जागिर खाने भन्ने दोधार भएकै बेला रेडियोले कुरा गर्यो । विश्वविद्यालयका कुलपतिको म्याद सकियो । अब थाहा भयो जागिर त कुलपतिको पनि हुँदो रहेछ नि । मोरा मास्टर हरु विनी र जिसिनी क्षेसिनी मात्र भन्थे । मेरो समय वेकार ती जागिरका पछि कुदेर वितेछ । एउटा जान्ने बुझ्ने अंकललाई सोधेको कहाँ कुलपति मात्र कुलपति सहकुलपति, उपकुलपति सहायक कुलपति,प्रसहायक कुलपति को पनि जागिर हुादो रहेछ । हाम्रा गाउँको मल बोक्ने कुलेको नाम पनि कुलपति नै थियो । सायद उसको नामसँग जोडिएको जागिर छोराले खायो भने बरबाद हुन्छ भनेर बाले त्यस्तो जागिर छ नभनेका होलान् रु बुढालाई दमले सताईदिएकाले डाक्टरको सम्म जागिर थाहा पाएका र मास्टर र डाक्टरमध्ये एउटा बन्नु भनेका रान् । जागिर त रेक्टर, रजिस्टार, डाइरेक्टरको पनि हुँदो रहेछन् नि ।

 

अब त्यता लाग्नुपर्यो भनेर बजारमा क्याप्सुल खोजेँ । वानेश्वर देखि कोटेश्वर सम्म कुद्दा कतै भेतिएन । न्युरोड देखि रिडरोडसम्म काही पाइएन । खोजिमरे कतै भेटिएन । जे पर्ला दिनुपर्यो फर्म भर्नुपर्यो भनेर विश्वविद्यालयमै पुगेको ती जागिरमा त परीक्षैपो लेख्नु पर्दैन रे । सोझै नियुक्ति । सोझै गाडी । सोझै पद । एउटा खरदार साथीले सल्लाह दिएअनुसार एउटा पाटीको टिकट दोहोर्याएर काटेँ । अर्को अधिकृत साथीको सल्लाहअनुसार अर्को पाटीको माला र सिँदुर लाएरै टिकट लिएँ । त्यसो गर्दै गर्दै दश ओटा पाटीको टिकट काटिसकेँ तर मिलेन त्यो कुलपतिपटिको जागिर ।

म जागिर खोज्दा खोज्दै एक दिन स्कुलदेखि गीत गाउँने साथीसँग भेट भयो । उसले सल्लाह दियो आजभोलि विश्वविद्यालयको कुलपति भन्दा प्रज्ञाप्रतिष्ठानको कुलपति हुन सजिलो छ । विश्वविद्यालयमा उपकुलपति मात्रै भइन्छ प्रज्ञा प्रतिष्ठानमा ता फुल कुलपति ।

उसले थप आइडिया पनि दियो, संगीत नाट्यको बन्ने भए कपाल दाह्री पालेर ठाउँ ठाउँमा नाटक खेल्नु पर्यो वा गीत गाउन थाल्नु पर्यो । दुई चार वर्ष गीत गाएपछि सोझै भइहाल्छ । अर्को ललित कलामा हुने भए दुई चारवटा चित्र वा मूर्ति बनाउन जाने पुगिहाल्छ , साहित्य वाड्मयको हुने भए पचास साठी जना साथीका कविता भेला पारेर एउटा किताब सम्पादन गरे भइहाल्छ । एक दुई कविता पत्रिकामा छापेको पनि हुनुपर्छ क्यारे । त्यसो नभए एउटा नेपाली भाषा जान्ने लेखकलाई समाउने । हुन्छन् नि नेपालीमा मास्टरसाँस्टर गरेका केटाहरु । हो तिनेरुलाई आफ्नो कथा भनेर मिलाएर लेखिदे भनेर आत्मकथा भनेर एउटा किताब छापे पुगिहाल्छ । उसका कुरा सुन्दा सुन्दै मलाई यो जागिर सजिलो लाग्यो । उसले भनेको थियो यो जागिरका लागि चालिस कटेको हुनुपर्छ । म ठ्याक्कै बयालिस पुगेको मान्छे सम्झिएँ यो जागिर मेरै लागि हो ।
कति संस्थान मात्र पस्ने अब पसेँ प्रतिष्ठान । थाहा भयो साथीले राम्रै कुरा गरेको रहेछ । केही नगरी घुम्ने कुर्सीमा बसेर जागिर खान पाइँदो रहेछ । एउटा एउटा पत्रिकाको सम्पादकमा नाम पनि चढिहाल्दो रहेछ , त्यो पनि सम्पादन नै गर्नु नपर्ने । अरौटे भरौटेहरु आएर काम गरिदिइहाल्दा रहेछन् । बाह्र एक बजे अफिस पुगेर सही गरेर आफ्नो व्यवसायमा जान पनि छुट ।

 

विदेश उड्न पनि छुट गाडीमा गुड्न पनि छुट । एउटा फोन पनि पाइने सबैले प्राज्ञज्यू भनिहाल्ने । त्यो जागिर देखेर त मलाई अन्त जाने मन लागेन । किवोर्ड त के कलम चलाउन नजाने पनि हुने, कुची नचलाए पनि हुने, बाजा नबजाए पनि हुने, गीत नगाएपनि हुने । सबै अरुले गरिदिने नाम चाहिँ सिरानमा राखिदिने । ठुलठुला देशमा नाम कहलाएका कवि कलाकार पनि आएर गोडै ढोग्न खोज्दा रैछन् भन्या । आफूले ढोगिहाल्नु परे आफ्नो मातहतको एउटा मन्त्रीलाई मात्रै । त्यो पनि अर्कै पाटीको परे नढोगे पनि हुने । पदावधि सिद्धिएपछि आजीवन प्राज्ञ नै भइने । पूर्व प्राज्ञ पनि भनिँदो रहेनछ भन्या । केही पारा मिलेर आजीवन सदस्य बन्न पाए त आजीवन सचिवकै पदको भत्ता पाइने । जताततै प्रमुख अतिथिको अतिथि, भोजका भोज, विमोचनका विमोचन, उद्घाटनका उद्घाटन । मान सम्मान र प्रतिष्ठाको त कुरै नगरुँ ।

अतिथि र प्रमुख अतिथिको कुरा त छँदै छ । आफ्नो छुट्टै विभाग हुने । त्यस विभागमा देशका भयड्कर भयड्कर लेखक कलाकारलाई आफ्ना मातहतमा राख्न पाइने । आफ्नातर्फबाट सभापति नै बसेर विभिन्न कार्यक्रम गर्न पाइने ।सभापति बस्ता स्कुलका पाठ्यपुस्तकमा पढेका ठुला ठुला लेखक कलाकारसँग कुमै जोडाएर सेल्फी खिच्ने मौका मिल्ने । मोफसलमा जान पाए जताततै प्रमुख अतिथि भएर माला। खादा, व्याज, मायाको चिनो र सम्मान पत्र पाइरहिने । कतै अभिनन्दन, कतै नागरिक अभिनन्दन । राम्रा राम्रा मान्छे अएर परमेश्वरकै छेउमा उभिएर फोटो खिच्छाझैँ फोटो खिचेर सामाजिक सञ्जालमा भाइरल बनाइदिने भन्या । उद्घोषक पनि आप्नै ओरिपरि उभिएर फोटो खिच्ने, कवि कलाकार पनि आफ्नै छेउमा उभिएर फोटो खिच्ने । कहिले त मुस्कुराएको अभिनय गर्दा गर्दै मुखै दुखिसक्छ भन्या ।

पुस्तक र कलाहरुका उपहार सित्तैमा मिल्ने । किताब किन्ने झन्झट पनि नहुने घरमा एउटा दराज भरि किताब र कलाका नमुना पनि भइहाल्ने । घरमा आएका मान्छेले दराजमा किताव र कला सामग्री देखेपछि विद्धतामा पनि कसैले संका नगर्ने । यता आफ्नो व्यवसाय छँदैछ । बोर्डिड् सालाले हेर्छ, कुखुराफाम भाइले हेर्छ, बड्गुर फाम साडु भाइले हेर्छ । कन्सलटेन्सी बहिनीले हेर्छे । म्यान पावरमा कान्छो साडु छँदै छ । पुतली सडकको साली होटल छ नि हो त्यो मेरै हो । त्यहाँ नाच्नेको नेतृत्व मेरै सालीले गर्छे । अलि वर्षपछि सालीको पनि संगीत नाट्यमा एउटा प्राज्ञको सम्भावना छ । त्यसकै लागि हामीले सल्लाह गरी गरी कवि कलाकारलाई सित्तैमा खुवाएर प्याएर ढलाइसकेका छौँ । समयमा काम लागेनन् भने तिनको लाइभ हामीले खिचेर राखेका छौँ ।

म जस्ता मान्छेलाई प्राज्ञ बन्दा कतै बोल्नु परेका बेला साहित्य र कलाका प्राविधिक शब्दहरुको समस्या हो । तर त्यसरी बोल्नु पर्यो भने किताव पढेर वा कला हेरेर केही बुँदा बनाइरहने झन्झटै नहुने काइदा पनि रहेछ भन्या । कवि कलाकारले नै बोल्नु पर्ने भाषण पुरै लेखेरै ठिक पारिदिने रहेछन् । यत्ति हो अलि मिलाएर पढ्न चाहिँ जानेको हुनु पर्छ । देशले मानेका ठूला ठूला विद्वान्ले धनुस्टङ्कार गरेर ढोग भेट गर्ने । उनीहरु दर्शक स्रोता भएका ठाउँमा आफू मञ्चमाथि उपरखुट्टी लाएर बस्न पाइने । सम्मान र पुरस्कारका सूचीमा अग्रस्थानमा नाम रहने । यस्तो जागिर होला भन्ने त मैले कल्पना पनि गरेको थिइनँ ।

प्राज्ञ जागिरका अरु पनि फाइदा रहेछन् भन्या । मलाई त किताब छाप्न धनी हुनुपर्छ भन्ने लाग्या थियो । प्राज्ञ भएपछि प्रकाशकहरु म छापिदिन्छु भन्दै तँछाड मछाड गर्दा रहेछन् । अहिले तयार भएको छैन भन्यो भने एउटा लेखकै नियुक्त गरिदिन तयार हुँदा रहेछन् । त्यसरी लेखिएर छापिएको किताव मेची महाकाली, स्वदेश विदेश यात्रामा प्रचार गर्दै हिँडाइदिँदा रहेछन् । यता प्रतिष्ठानको गाडी भइहाल्छ । आफ्नै किताबका विमोचनका संस्करणका संस्कारण । आफ्नौ हातबाट विमोचनका विमोचन । अन्तरक्रियाका अन्तरक्रिया । समीक्षाको समीक्षा । संस्करणका संस्करण प्रकाशनको प्रकाशन । त्यति गरेपछि त्यस्तो किताब पाठ्यक्रममा पनि रहँदो रहेछ । विश्वविद्यालय र विद्यालयका पाठ्यक्रम समितिका मान्छेलाई यसो चियापान गरायो भने अब देवकोटाका कविता भन्दा तपाईँको कविता राम्रो भनिदिन पछि पर्दैनन् भन्या । अस्तिको आफ्नै किताब पल्टाइ हेर्छु कुनै कुनै त देवकोटाकै जस्ता लाग्न थाले यार ।

प्राज्ञ हुँदा गर्नु पर्ने काम कर्तव्य र अधिकारको कुरा मलाई सब थाहा छ । कसैका किताबमा भूमिका लेख्न विद्वान् हुनुपर्छ भन्ने लागेको थियो । किताब पढेर कसरी भूमिका बनाउने होला भन्ने चिन्ता थियो । प्राज्ञ भएपछि त्यसै विद्वान् पनि बनिइने रहेछ । त्यसको बाटो पनि बताइहालूँ लेखक त विद्वानै हुन्छन् नि । हो उनीहरुले नै भूमिका पनि लेखेर ल्याउँदा रहेछन् प्राज्ञले सही गरे भइहाल्दो रहेछ । कला अलि अमूर्त पनि हुन्छन् । त्यतिबेला कलाकारलाई नै सोधेर के भन्न खोजेको भन्यो, उनीहरुले बताइदिइ हाल्छन्, आफूले त्यही अनुसार कुरा गर्यो । ग्राहकसँग कसरी कुरा गर्नेै भन्ने त आफ्रना व्यवसायले पनि सिकाएकै छन् । विमोचनका बेलाका समीक्षकले पनि प्राज्ञका कुरा काट्न सक्ता रहेनछन् पछि एम।ए, एम। फिल र पीएच डी गनेै विद्वान्ले पनि काट्न सक्ता रहेनछन् । प्राज्ञको भनाई नै अन्तिम भनाई हुँदो रहेछ । प्राज्ञले राम्रो लेखक कलाकार भने राम्रो भयो, कमजोर भने कमजोर भयो । शिव वाक्य नै हुँदो रहेछ नि प्राज्ञको वाक्य त । मैले चाहिँ यही प्राज्ञकै जागिर खाने विचार गरेँ । ‘

                                                            रमेश शुभेच्छु

                                                      लेखक÷साहित्यकार÷ प्राध्यापक

                                             बानेश्वर बहुमुखी क्याम्पस काठमाडौँ , नेपाल ।


प्रकाशित | २०७४ भाद्र २८ प्रकाशित ०५:०५

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ