भदौ २५, काठमाडौँ। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको तेस्रो चरणअन्तर्गत असोज २ गते निर्वाचन हुने आठै जिल्लामा पार्टीका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।
पार्टी सभापति देउवा यही भदौ २७ गते प्रदेश नं २ को निर्वाचन प्रचारमा जानुहुने र भदौ ३० गते राजधानी फर्कने कार्यक्रम तय भएको पार्टीं केन्द्रीय कार्यालयले जनाएको छ । प्रधानमन्त्री देउवाले भदौ २७ गते सप्तरीको राजविराजमा हुने आमसभा र सिरहाको जिरोमाइलमा अपराह्न ४ बजे आयोजना हुने चुनावीप्रचार सभालाई सम्बोधन गर्नेछन् ।
सिरहाको सम्बोधन र पार्टी कार्यकर्ताको भेटघाटपछि प्रधानमन्त्री देउवा जनकपुर प्रस्थान गर्ने तालिका छ । उनले भदौ २८ गते बिहान रामजानकी मन्दिरको दर्शन गर्नाका साथै कार्यकर्तासँग भेटी अपराह्न १ बजे जनकपुरधाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने पार्टी कार्यालयले जनाएको छ ।
भदौ २९ गते प्रधानमन्त्री देउवाले सर्लाही र रौतहटका चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । सर्लाहीको मलंगवामा अपराह्न १ बजे हुने आमसभा र अपराह्न ४ बजे रौतहटको गौरमा हुने आमसभालाई सम्बोधन गरी प्रधानमन्त्री देउवा वीरगञ्ज प्रस्थान गर्नेछन् ।
भदौ ३० गते अपराह्न १ बजे बाराको कलैयामा आयोजना हुने चुनावी सभालाई सम्बोधनपछि प्रधामन्त्री देउवाले सोही दिन पर्साको वीरगञ्जमा आयोजना हुने चुनावी सभालाई अपरान्ह २ बजे सम्बोधन गर्नेछन् । प्रधानमन्त्री देउवा सोही दिन काठमाडौंँ फर्कने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ ।