रौतहटमा उम्मेदवारहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लघन गर्दै

२५ भाद्र २०७४, आईतवार ०५:०५

भदौ २५, रौतहट । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा रौतहटमा आचारसंहिताको धज्जी उडाइएको छ । उम्मेदवारहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लघनमा प्रतिस्पर्धा गरिरहेका छन् ।

दलका नेता कार्यकर्ता मात्र होइन स्वतन्त्र उम्मेदवारले पनि आचारसंहिता लत्याई रहँदा अनुगमन गर्ने निकाय भने मौन छ । आचारसंहिताले बन्देज गरेका हरेक गतिविधी रौतहटका १८ वटै स्थानीय तहका उम्मेदवारले जारी राख्दा पनि अहिलेसम्म कसैलाई कारवही गरिएको छैन । आचारसंहितामा उल्लेख गगिएका अधिकांश बुदाँहरु यहाँका उम्मेदवारले उल्ल्घन गरी सीमा नाघिसकेका छन ।

निर्वाचन आयोगको आचारसंहिताको परिच्छेद २ को आठ नम्बर बुदाँमा राजनीतिक दलका उम्मेदवारहरुले विद्यालय, सरकारी तथा सार्वजनिक भवन तथा धार्मीक पुरातात्वीक भवनाको भित्तामा पर्चा टाँस्न मनाही गरिएको भए पनि रौतहटमा त्यसको पालना भएको छैन । त्यसै गरी बुदा नंम्बर १३ मा बालबालिकाको प्रयोग गर्न नपाइने उल्लेख भए पनि त्यसको अवहलेलना गरिएको छ ।

यसै गरी आचारसंहिताको परिच्छेद पाँचको १२ नम्बर बुँदामा आमसभा गरेको स्थल र समय बाहेक अन्य स्थल र समयमा माइक तथा लाउडस्पीकर र ध्वनी उत्पन्न गर्ने अन्य यन्त्र प्रयोग गर्न नहुने भनिएको छ । रौतहटको गरुडा नगरपालिका लगायत दर्जनौ नगरपालिकामा उम्मेदवारहरुले ट्रयाक्टर र भ्यानमा जेनेटर सहित ठूला लाउडस्पीकर र साउण्ड बक्सहरु प्रयोग गरेर प्रचार प्रसार गरी रहेका छन । निकै ठूलो ध्वनीमा गुञ्जीने यस्ता यन्त्रहरुका कारण घरभित्र बस्न तथा राति निदाउन समेत गाह्रो भएको गरुडा नगरपालिकाका स्थानीय केशव साह बताउछन ।

यसैगरी आचारसंहिताले एक उम्मेदवारले दुई भन्दा बढी गाडी प्रयोग गर्न नपाउने भने पनि एउटै उम्मेदवारले दश भन्दा बढी गाडीका लस्कर लगाएर चुनावी अभियानमा हिड्ने गरेका छन् । रोचक पक्ष त के छ भने कमाउने दाउमा उम्मेदवारी दिएका केही स्वतन्त्र तथा नक्कली उम्मेदवारहरुले आफूले पाएका गाडीमा अर्कै दलको झण्डा बोकि प्रचारप्रसार गरेको पाइएको छ । राजनीतिक दलका उम्मेदवारलेनै डमी उम्मेदवार स्वतन्त्र रुपमा खडा गरेर उनीहरुमार्फत आफ्नो प्रचार प्रसार गर्ने गरेका छन् । गाडी प्रयोगदेखि मतदानकेन्द्रमा प्रतिनिधि राख्नेसम्मको प्रयोजनका लागि रौतहटका बिभिन्न स्थानीय तहमा डमी उम्मेदवार खडा भएका छन् ।

 

रौतहटका अधिकांश क्षेत्रहरुमा व्यापकरुपमा आचारसंहिता उल्लघन भए पनि कारवाही भने कसैलाई गरिएको छैन । आचारसंहिता उल्लघंनका विषयमा हालसम्म कुनै क्षेत्रबाट उजुरी नपरेको गरुडका निर्वाचन अधिकृत नविन कुमार जोशीले बताए । जिल्लामा सदरमुकाम गौर बाहेकका क्षेत्रमा आचारसंहिता विपरित प्रचारप्रसारका कार्यहरु भइरहेकोले त्यसलाई तत्काल रोक्न र कारवाहीका गर्न प्रहरी उपरिक्षकलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले बताए । प्रचारप्रसारका क्रममा ग्रामीण क्षेत्र र नगरपालिकाहरुमा आचारसंहिता विरुद्धको कार्य भइरहेकोले निर्वाचन अधिकृत तथा प्रहरीलाई पनि त्यस्ता काममा बन्देज लगाउन निर्देशन गरेको प्रजिअ थापाले बताए ।