मदनकृष्ण श्रेष्ठको आत्म कथा सार्वजनिक

२० भाद्र २०७४, मंगलवार १५:१३

भदौ २०, काठमाडौं । बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच अर्का बरिष्ठ कलाकार हरिवंश आचार्यले उक्त आत्मकथा विमोचन गरेका हुन् ।
कार्यक्रममा  लेखक श्रेष्ठले भने ‘आत्मकथा लेख्न सजिलो हुन्छ होला भन्ठानेको थिएँ , ‘तर मलाई ६ वर्ष लाग्यो ।’ आत्मकथा लेख्न सुरु गरेको बेलामा श्रीमतीलाई क्यान्सर भएर उपचारतिर लाग्नु परेकाले ढिलाई भएको उनले बताए ।

मदनकृष्णका अनुसार पार्किन्सन्स रोगले गर्दा लेख्ने काम निकै कष्टप्रद बनेको थियो । ‘लेख्दै जाँदा अक्षर सानो–सानो हुँदै जान्थ्यो,’ उनले भने, ‘एउटा हातले अर्को हातलाई सहारा दिनुपर्थ्यो ।’

उनले भने ‘हरिबंश मेरो जीवनको अद्वितीय र असाधारण साथी हो,’ ‘मलाई हरिबंश जस्तो असाधारण साथी दिएकोमा उनको बुवा–आमालाई पनि धन्यवाद दिन चाहन्छु ।’

कार्यक्रममा बोल्दै हरिबंशले मदनकृष्णलाई आफ्नो ‘जीवन दाई’ को संज्ञा दिए । उनले ठट्यौली पारामा भने, ‘सबैभन्दा नजिकको व्यक्तिलाई जीवनसाथी भनिन्छ । तर, हामी दुवैजना पुरुष भएकाले जीवनसाथी भन्न मिलेन । म उहाँलाई जीवन दाई भन्न चाहन्छु ।’

महजोडीसँग निकट लघुकथाकार रवीन्द्र समिरले हरिबंशको आत्मकथाभन्दा मदनकृष्णको आत्मकथा धेरै फरक भएको बताए । उनले भने, ‘दुईजनाको आत्मकथामा धेरै कुरा रिपिट होलान् भन्ने लाग्न सक्छ । तर, चिना हराएको मान्छे भन्दा यो किताब शतप्रतिशत नौलो छ ।’

विमोचन कार्यक्रम संगीतमय बनाइएको थियो । सुरुमा मदनकृष्णले लेखेका गीत छोरा यमन श्रेष्ठ र छोरीले पालैपालो गए । त्यसपछि मदनकृष्ण आफैंले आफ्ना दुई गीत सुनाए ।