रोजगारीका लागि विदेश जानु पर्दैन: गभर्नर नेपाल

१८ भाद्र २०७४, आईतवार १५:३२

भाद्र १८, पाल्पा। नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले युवाले रोजगारीका लागि विदेश जानुभन्दा आफैँ उद्यमी बनेमा मुलुकमा समृद्धि हुने बताएका छन्।

पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको छहरामा आज सिटिजन्स बैंक इन्टरनेशनल लि.को उद्घाटनमा गभर्नर डा. नेपालले मुलुकभित्र प्रशस्त आम्दानीको अवसर रहेकाले स्वदेशमा नै केही काम गरी स्वरोजगार बन्नुपर्ने बताए।

उनले बैंक तथा वित्तीय संस्थाले कृषि, उद्योग, व्यवसाय सञ्चालनका लागि ऋण लगानी गरेर आर्थिकरुपमा सुधार ल्याउन सकिने बताए। विदेश गएर अरूको नोकर भएर कामगर्ने प्रवृत्ति त्याग्न पनि उनले आग्रह गरे।

डा. नेपालले काम गर्नेका लागि देशमै ठूलो अवसर रहेको बताए। सरकारले जनताका घरदैलोमा बैंकमार्फत पैसा लिएर आएको उनले बताए। ‘बैंकबाट कर्जा लिएर व्यापार, व्यवसाय गर्नुहोस्, देशमै राम्रो अवसर छ,’ उनले भने।

बैंक तथा वित्तीय संस्थाहरु कर्जा लगानी गर्न आतुर रहेकाले अहिले पैसा नभएर व्यापार व्यवसाय गर्न पाईएन भन्ने अवस्था नरहेको पनि उनले बताए।