मिनी–म्याराथन दौड प्रतियोगितामा सवीन गुरुङ विजयी

६ आश्विन २०७४, शुक्रबार ०६:५६

असोज ६, काठमाडौं । दशैँको अवसर पारेर चितवनको भरतपुरमा प्रथम धनगढा खुल्ला मिनी–म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ ।

जिल्ला युवा समिति चितवनको आयोजना तथा धनगढा एकीकृत विकास समितिको मूल व्यवस्थापनमा घटस्थापनाको अवसरमा बिहीबार म्याराथन दौड सम्पन्न भएको हो ।म्याराथुन दौडको निर्धारित नौ किमी दूरी २४ मिनेटमा पार गर्दै पोखरा घर भएका चितवनका बक्सिङ खेलाडी सवीन गुरुङ प्रथम हुनुभएको छ । यस्तै, अछामका नरेन्द्र बुढा दोस्रो र सशस्त्र प्रहरीमा कार्यरत बैतडीका प्रकाशसिंह भाट तेस्रो हुनुभयो । गोरखाकी बेनिशा जोशीले सान्त्वना पुरस्कार प्राप्त गर्नुुभयो भने खेलमा सहभागी जनाउनुभएका सबैभन्दा बढी ५५ वर्षका प्रतियोगितामा सहभागी चितवनका सुरेश सेनले समेत सान्त्वना पुरस्कार पाउनुभयो ।

 

सो म्याराथनमा प्रथम हुनेलाई रु २० हजार, दोस्रो हुनेलाई रु १५ हजार र तेस्रो हुनेलाई रु १० हजार प्रदान गरिने जिल्ला युवा समिति चितवनका अध्यक्ष अस्मिन घिमिरेले जानकारी दिनुभयो । केही दिनमा हुने दशैँ शुभकामना आदानप्रदान कार्यक्रममा पुरस्कार वितरण गरिने जनाइएको छ । यस्तै, सान्त्वना पुरस्कार प्राप्त गर्ने दुईजनालाई रु तीन हजार र रु दुई हजार प्रदान गरिने जनाइएको छ । भरतपुरको धनगढा मन्दिर परिसरबाट शुरु भएको म्याराथन दौडअन्तर्गत सहभागीले वडा नं १२ को परिक्रमा गरेका थिए । युवालाई खेलकुदप्रति आकर्षित गर्न प्रतियोगिता आयोजना गरिएको घिमिरेले जानकारी दिनुभयो । आगामी वर्षपनि खेल जारी राख्ने जिल्ला युवा समिति, चितवनले जनाएको छ ।