दुई नम्बर प्रदेशमा मतगणना जारी, कहाँ कसले लिइरहेका छन् अग्रता ?

३ आश्विन २०७४, मंगलवार ०४:२१

असोज ३, काठमाडौं । प्रदेशका दुईको १३६ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहको मतगणना सुरु भएको छ।

 

केही स्थानीय तहको गएरातिदेखि नै मतगणना सुरु भएपनि अधिकांशको भने मंगलबार बिहानबाट मतगणनाको काम सुरु भएको हो। प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेसले अग्रता लिएको छ। कांग्रेसलाई एमाले, नेकपा माओवादी केन्द्र, राजपा नेपाल र संघीय समाजवादी फोरमले पछ्याइरहेका छन्। केही स्थानीय तहमा एमालेले अग्रता लिएको छ भने केहीमा राजपा र संघीय समाजवादी फोरम नेपालले अग्रता लिइरहेको छ।

यी हुन् कांग्रेसले अग्रता लिइरहेका स्थानीय तह

नेपाली कांग्रेसले सप्तरीको खड्क नगरपालिका, बाराको बारागढी गाउँपालिका, सिरहाको कल्याणपुर नगरपालिका र महोत्तरीको बर्दिबास नगरपालिकामा अग्रता लिएको छ। प्रारम्भिक नतिजा अनुसार सप्तरीको सप्तरीको खड्क नगरपालिकामा कांग्रेस अग्रस्थानमा छ भने उसलाई एमालेले पछ्याइरहेको छ। कांग्रेसका मेयरका उम्मेदवारले ७४ मत पाएका छन् भने एमालेका उम्मेदवारले ५८ मत पाएका छन्। राजपा नेपालका मेयरका उम्मेदवारले ४७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै, कांग्रेसले बाराको बारागढी गाउँपालिकामा पनि अग्रता लिइरहेको छ। कांग्रेसका मेयरका उम्मेदवारले २०५ मतका साथ अग्रता लिएका छन्। कांग्रेसलाई संघीय समाजवादी फोरम नेपालका उम्मेदवारले पछ्याइरहेका छन्। फोरम नेपालका उम्मेदवारले १५४ मत पाएका छन्। तेस्रो स्थानमा रहेको एमालेका उम्मेदवारले १ सय २८ मत प्राप्त गरेका छन्।  सिरहाको कल्याणपुर नगरपालिकामा कांग्रेसले नै अग्रता लिइरहेको छ। उसलाई राजपा नेपालले पछ्याइरहेको छ। प्रारम्भिक नतिजा अनुसार कांग्रेसका मेयर उमेदवारले ८० मतका साथ अग्रता लिइरहेका छन् भने उनलाई पछ्याइरहेका राजपा नेपालका उम्मेदवारले ५९ मत पाएका छन्। यस्तै, नेकपा माओवादी केन्द्रका उमेदवारले ५ र एमालेले १ मत पाएका छन्।

 

उता, महोत्तरीको बर्दिबास नगरपालिकामा नेपाली कांग्रेसले नै अग्रता लिइरहेको छ। निर्वाचन अधिकृत मणिराम न्यौपानेका अनुसार कांग्रेसका मेयरका उम्मेदवारले १४४ मत पाएका छन्। उनलाई माओवादी केन्द्रका उम्मेदवारले पछ्याइरहेका छन्। माओवादीका उम्मेदवारले ६९ मत पाउँदा एमालेका उम्मेदवारले ६१ मत प्राप्त गरेका छन्।

एमाले कहाँ–कहाँ लिइरहेको छ अग्रता
एमालेले सिरहाको कर्जन्हा नगरपालिका, रौतहटको गौर नगरपालिका, धनुषाको मिथिला विहारी नगरपालिका र सप्तरीको सप्तकोशी नगरपालिकामा अग्रता लिइरहेको छ। प्रारम्भिक मतपरिणाम अनुसार सिरहाको कर्जन्हा नगरपालिकामा अग्रता लिइरहेको एमालेलाई माओवादी केन्द्रले पछ्याइरहेको छ।

एमालेका उम्मेदवारले ३०२ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका माओवादी केन्द्रका उम्मेदवारले २९८ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेको कांग्रेसका उम्मेदवारले १५८ मत पाएका छन्। यस्तै, रौतहटको गौर नगरपालिकामा पनि एमालेकै उम्मेदवारले अग्रता लिइरहेका छन्। एमालेलाई राजपा नेपालले पछ्याइरहेको छ। एमालेका उम्मेदवारले १ सय २४ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेको राजपा नेपालका उम्मेदवारले ५२ मत पाएका छन्।

 

यसैगरी धनुषाको मिथिला विहारी नगरपालिकामा एमालेकै अग्रता छ। एमालेलाई कांग्रेसले पछ्याइरहेको छ। प्रारम्भिक मतपरिणाम अनुसार एमालेका उम्मेदवारले १२४ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेको कांग्रेसका उम्मेदवारले १०५ मत प्राप्त गर्दा संघीय समाजवादी फोरम नेपालका उम्मेदवारले ६२ मत पाएका छन्। चौथो स्थानमा रहेको राजपा नेपालका उम्मेदवारले २९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

उता, सप्तरीको सप्तकोशी नगरपालिकामा पनि एमालेकै अग्रता छ। उसलाई माओवादी केन्द्रले पछ्याइरहेको छ। एमालेका उम्मेदवारले ९१ मत पाएका छन् भने उनलाई पछ्याइरहेका माओवादी केन्द्रका उम्मेदवारले ४६ मत पाएका छन्। तेस्रो स्थानमा रहेको नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवारले २४ र कांग्रेसका उम्मेदवारले २१ मत पाएका छन्।

माओवादी केन्द्रले अग्रता लिएका स्थानीय तह 
नेकपा माओवादी केन्द्रले धनुषाको गणेशमान चारनाथ नगरपालिका, सिरहाको मिर्चैया नगरपालिका र गोलबजार नगरपालिका तथा बाराको देवताल गाउँपालिकामा अग्रता लिइरहेको छ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा अग्रता लिइरहेको माओवादी केन्द्रलाई संघीय समाजवादी फोरम नेपालले पछ्याइरहेको छ। माओवादी केन्द्रका उम्मेदवारले ९१ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका संघीय समाजवादी फोरमका उम्मेदवारले ८४ मत पाएका छन्। तेस्रो स्थानमा रहेको कांग्रेसका उम्मेदवारले ७३ मत पाएका छन् भने एमालेका उम्मेदवारले ३१ मत पाएका छन्। यस्तै, सिराहाको मिर्चैया नगरपालिकामा माओवादी केन्द्रलाई एमालेले पछ्याइरहेको छ। माओवादीका उम्मेदवारले १९३ मत पाएका छन् भने उनलाई पछ्याइरहेका एमालेका उम्मेदवारले ८३ मत पाएका छन्। तेस्रो स्थानमा रहेको कांग्रेसका उम्मेदवारले ४८ मत पाएका छन् भने संघीय समाजवादी फोरम नेपालका उम्मेदवारले ८ मत पाएका छन्।

सिरहाकै गोलबजार नगरपालिकामा पनि माओवादी केन्द्रले नै अग्रता लिइरहेको छ। प्रारम्भिक मतपरिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवारले ७२ मत पाएका छन् भने उनलाई एमालेका उम्मेदवारले ४२ मतका साथ पछ्याइरहेका छन्। तेस्रो स्थानमा रहेको कांग्रेसका उम्मेदवारले ३४ र संघीय समाजवादी फोरम नेपालका उम्मेदवारले २५ मत पाएका छन्।  यसैगरी, बाराको देवताल गाउँपालिकामा पनि माओवादी केन्द्रले नै अग्रता लिएको छ।

राजपाले अग्रता लिएका स्थानीय तह
राजपा नेपालले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका, महोत्तरीको मनरा सिस्वा नगरपालिका लगायत केही स्थानमा अग्रता लिइरहेको छ। प्रारम्भिक मतपरिणाम अनुसार महोत्तरीको मनरा सिस्वा नगरपालिकामा अग्रता लिएको राजपा नेपाललाई माओवादी केन्द्रले पछ्याइरहेको छ। निर्वाचन अधिकृत यामबहादुर कार्कीका तेस्रो स्थानमा भने संघीय समाजवादी फोरम नेपाल छ। राजपाका मेयरका उम्मेदवार १३५ मतका साथ अग्रस्थानमा छन् भने माओवादी केन्द्रका उम्मेदवारले ११७ मत पाएका छन्। संघीय समाजवादी फोरम नेपालका मेयरका उम्मेदवारले ५५ मत पाएका छन्। यस्तै, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा पनि राजपाले नै अग्रता लिएको छ।