साझा प्रकाशनका ३ सदस्यद्वारा राजीनामा

२ आश्विन २०७४, सोमबार १३:५२

असोज २, काठमाडौं । साझा प्रकाशनको सन्चालक समितिको सदस्यबाट सोमबार तीनजनाले राजीनामा दिएका छन् ।

 

समिति सदस्य दीनानाथ शर्मा, प्रदीप नेपाल र प्रा. डा. कृष्णहरि बरालले सोमबार विज्ञप्ति प्रकाशन गरी राजीनामा दिएका हुन् । उनीहरुले पछिल्ला समयमा साझा प्रकाशन र आफ्नो प्रतिष्ठानमा आँच आउने किसिमका समाचार बाहिर आएकाले उक्त पदमा बसिरहनु उपयुक्त नठानेकाले राजीनामा दिइएको बताएका छन् ।  तीनैजनाले शिक्षा मन्त्रालयमा गत साउन ९ गते राजीनामा बुझाएपनि मन्त्रालयबाट स्वीकृत नभएपछि सोमबार आफैं राजीनामा दिएका हुन् ।

 

विज्ञप्तिमा उनीहरुले ‘स्वयं शिक्षा मन्त्रालयबाटसमेत राजीनामाकाबारेमा भ्रामक समाचार आएकाले पनि साझा प्रकाशनमा बस्न उपयुक्त नहुने’ उल्लेख गरेका छन् ।  शर्मा र नेपाललाई शिक्षा मन्त्रालयले २०७२ साल असार २४ र प्रा. डा. बराललाई साउन १० गते तीन वर्षका लागि साझा प्रकाशनको सन्चालक समिति सदस्यमा नियुक्त गरेको थियो । रासस