दुई नम्बर प्रदेशको निर्वाचन शान्तिपूर्ण सम्पन्नः करिव ७० प्रतिशत मत खस्यो

२ आश्विन २०७४, सोमबार १२:१६

असोज २, काठमाडौं । स्थानीय तहको तेस्रो चरणअन्तर्गतको प्रदेश २ का आठ जिल्लामा भएको मतदान सकिएको छ ।

 

बिहान ७ देखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । छिट्फुट घटना बाहेक अधिकांश स्थानमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार प्राय सबै स्थानमा ७० प्रतिशतको हाराहारीमा मत खसेको छ । तर आयोगले आधिकारी तथ्यांक केही बेरमा सार्वजनिक गर्ने बताएको छ ।  प्रदेश २ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् ।

 

सोमबारको निर्वाचनबाट यी तहमा ६ हजार ६ सय २७ जना प्रतिनिधि निर्वाचित हुनेछन् । यो चुनावमा ३७ हजार २ सय ३६ उम्मेदवार प्रतिस्पर्धामा छन् । तीमध्ये महिला १४ हजार ३ सय ७५ (३९ प्रतिशत) र पुरुष २२ हजार ८ सय ६१ (६१ प्रतिशत) छन् । ८ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।   नगरप्रमुख तथा गाउँपालिका अध्यक्षमा पुरुष १ हजार ७ सय ९ र महिला ६१ जनाको मात्रै उम्मेदवारी छ । नगर उपप्रमुख वा उपाध्यक्षमा भने पुरुषभन्दा महिला उम्मेदवारको संख्या बढी छ । नगर उपप्रमुख र उपाध्यक्षमा १ सय ९७ जना पुरुष र ९ सय १९ जना महिला उम्मेदवार छन् । वडाध्यक्षमा पुरुष ८ हजार ५२ र महिला २ सय २३ जना उम्मेदवार छन् ।