सरकारले तोकेभन्दा बढी भाडा लिने व्यवसायीहरुलाई कारबाही गछौं : यातायात विभाग

१ आश्विन २०७४, आईतवार १३:५६

असोज १, काठमाडौं । विभिन्न काम तथा अध्ययनका लागि राजधानीमा बसेकाहरु अहिले दसैं मनाउन आफ्नो गाउघरफर्किरहेका छन् । यातायात व्यवस्था विभागले यस वर्षको दसैंमा करिब २५ लाख यात्रु स्थलमार्ग हुँदै राजधानीबाट बाहिरिने बताएको छ ।

सरकारले राजधानीबाट विभिन्न गन्तव्यका लागि गाडीको भाडादर तोकेको छ । तर सरकारले तोकेको भाडादरमा यात्रुले टिकट पाउन सकिरहेका छैनन् । यता सवारीसाधन व्यवसायीहरुले दसैंमा खुला गरिएको टिकट निष्पक्ष ढंगबाट वितरण गरिरहेको बताएका छन् । “हामीले सवारीसाधनको उपलब्धताका आधारमा टिकट वितरण गरिरहेका छौं,” सप्तकोशी मिनी माइक्रोबस व्यवसायी संघका महासचिव नारायण भट्टराईले बाह्रखरीसँग भने, “टिकट काट्न र सिटमा समेत महिला, बालबालिका र वृद्धवृद्धलाई विशेष प्रथमिकता दिएका छौं ।” भट्टराईले यस पटकको दसैंमा टिकट नपाएकै कारण घर फर्किन नपाएको गुनासो खासै नसुनिएको बताए ।

 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले व्यवसायीले वितरण गरेको टिकट र भाडादरप्रति सर्वसाधारणबाट कुनै गुनासो नआएको दाबी गरे ।  यात्रुहरु भने टिकटको भाडा मनपरी रहेको गुनासो गर्छन् । सरकारले सार्वजनिक सवारीसाधनमा इन्धन खपतको अंश ३५ प्रतिशत र अन्य सुचकहरुको ६५ प्रतिशत मानेर २०७२ माघमा नयाँ भाडादर सार्वजनिक गरे पनि उक्त भाडादर कायम हुन सकेको छैन । “यहाँबाट विराटनगर जानका लागि सरकारले तोकेको गाडीभाडा ९४८ हो, तर काउण्टरले १३ सय लियो,” रत्नराज्यलक्ष्मी क्याम्पस बिए प्रथम वर्षका नायक पौडेलले भने । सोही क्याम्पसका विद्यार्थी श्रीकृष्ण उप्रेतीले दसैंको मौका छोपेर व्यवसायीहरुले चर्को भाडा असुल्ने गरेको बताए । “यहाँबाट सर्लाही मलङ्गवाको भाडा ६ सय १० हो । तर हामी १२ सयसम्म तिर्न बाध्य छौं,” उनले भने ।

 

व्यवसायीहरुले चर्को भाडा लिइरहँदा पनि सरकार मौन बसेको साथै दसैंकै मौकामा व्यवसायीले सामान्य मर्मतका भरमा चलाउने थोत्रा गाडीहरुबाट यात्रुहरु असुरक्षित यात्रा गर्न बाध्य हुनुपरेको पनि उप्रेतीले बताए । यता, शंकरदेव क्याम्पस स्नातकोत्तर दोस्रो वर्षका टीका ढुंगानाले पनि आफूलाई व्यवसायीले झापा जानका लागि १५ सय असुलेको गुनासो गरे, जबकि उक्त रुटको सरकारी भाडादर १ हजार ५० हो ।

कारवाही गर्छौं ः यातायात व्यवस्था विभाग
दसैंको मौका छोपी सरकारले तोकेभन्दा बढी भाडा लिने, यात्रु ठग्ने, दलाली गर्ने व्यवसायीहरुलाई कारबाही गर्ने यातायात व्यवस्था विभागले बताएको छ । विभागका महानिर्देशक रुपनारायण भट्टराईले भने, “काठमाडौंका विभिन्न स्थानका काउण्टरमा अनुगमन टोली खटाएका छौं ।” यसैगरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले तोकेभन्दा बढी भाडा लिने, यात्रु ठग्ने, दलाली गर्ने २० जनाबढीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए ।