सर्वोच्च अदालतमा तीन न्यायाधीश सिफारिस, एक सय ९७ जिल्ला न्यायाधीशको सरुवा

२८ भाद्र २०७४, बुधबार १५:०१

भदौ २८, काठमाडौं । न्यायपरिषद्को बुधबारको बैठकले सर्वोच्च अदालतका लागि तीन न्यायाधीशको नियुक्ति सिफारिस गरेको छ । प्रधानन्यायाधीश एवम् न्यायपरिषद्का अध्यक्ष गोपाल पराजुलीसहितको पदाधिकारी बैठकले भर्खरै उक्त निर्णय गरेको हो ।

बैठकले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, सुर्खेत उच्च अदालतका डम्बरबहादुर शाही र उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तानलाई सर्वोच्चको स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो । यस पल्टको नियुक्तिमा कानुन व्यवसायीबाट एक जना पनि न्यायाधीश परेका छैनन । सवोच्चमा चार जना स्थायी न्यायाधीश पद रिक्त थियो । एक जना भने अझै पूर्ति हुन बाँकी नै छ । सँगै परिषद् बैठकले मुलुकभरका एक सय ९७ जिल्ला न्यायाधीशको सरुवा समेत गरेको छ । त्यसैगरी निर्वाचन अधिकृतका लागि न्यायाधीश खटाउने निर्णय समेत बुधबारकै परिषद् बैठकले गरेको छ ।