बिष्णु पौडेलको चेताबनी- बुटवललाई प्रदेशको राजधानी बन्न नदिने को ?

१६ भाद्र २०७४, शुक्रबार १२:२८

१६ भदौ, काठमाडौं । नेकपा एमालेका उपमहासचिब बिष्णु पौडेलले बुटवललाइ प्रदेश न ५ को राजधानी बन्न कसैले रोक्न नसक्ने बताएका छन् ।

बुटवल उपमहानगरको बजेट, नीति तथा कार्यक्रम सार्बजनिक कार्यक्रममा बोल्दै उनले भने, ‘बुटवललाई प्रदेशको राजधानी बन्न नदिने को, दल, व्यक्ति, नेता, मन्त्री वा प्रधानमन्त्री ? बुटवलको मैदानमा आएर बुटवल केन्द्र बन्न सक्दैन भन्ने हिम्मत गर ।’नेता पौडेलले बुटवललाई प्रदेशको राजधानी बन्न नदिनेहरु मैदानमा आउन चेताबनी दिए ।

बुटवल हरेक हिसाबले प्रदेशको राजधानी बन्ने संभाबित ठाउँ हो । यसलाई रोक्ने कोशिषलाइ हामीले असफल तुल्याउछौं ।’

‘यो वा त्यो दलको एजेण्डा होइन, हामीले प्रदेशको केन्द्र बुटवललाइ बनाएरै छाड्छौं’ उनले प्रतिबद्धता जनाए ।

‘हामी संसद, सिंहदरबारमा लड्छौं, बल नपुगे जनतालाई सडकमा उर्ताछौं तपाइहरु तयार रहनुहोला’ उनले भने ।

उनले स्थानीय निकायको हात खुट्टा बाँधिएको भन्दै अधिकार पाएपनि ब्यबहारिक रुपमा काम गर्न सयौं कानून निर्माण गर्न जरुरी रहेको प्रष्ट पारे ।