प्रतिनिधि सभा र प्रदेशको निर्वाचन चहलपहल शुरु

९ आश्विन २०७४, सोमबार ०७:५५

काठमाडौं ९ असोज । पोखरामा आगामी मंसिरमा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेशको निर्वाचनको चहलपहल शुरु भएको छ ।
स्थानीय तह निर्वाचन सम्पन्न भएसँगै अब दलहरुको ध्यान आगामी मंसिर १० र २१ हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनतिर गएको छ ।

पोखरा जिल्लाका प्रमुख दलहरु नेपाली काँग्रेस, एमाले, (माओवादी केन्द्र) लगायतका दलले इमान्दार र स्वच्छ छवि भएका उम्मेदवार छनोट गरेर जिल्ला समितिमा पठाउन क्षेत्रीय समितिलाई निर्देशन दिइसकेका छन् ।

मंसिरमा निर्वाचन हुने भएपछि विभिन्न दलका गाउँदेखि जिल्लासम्मका नेता कार्यकर्ता आ–आफ्नो पक्षमा परिणाम पार्ने पक्षमा जुटेका छन भने आफ्नो नाम उम्मेदवारमा सिफारिसका लागि दौडधूप पनि शुरु भएको छ । चार निर्वाचन क्षेत्र रहेको कास्की जिल्लालाई निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभाको ३ र प्रदेश सभाको लागि ६ निर्वाचन क्षेत्र कायम गरेका छन् ।

क्षेत्रीय निर्वाचन कार्यालय पोखरा पनि मतदाता शिक्षाको तैयारीमा जुटेको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिनुभयो । कास्कीमा आगामी मसिर २१ गते दुबै तहको निर्वाचन हुँदैछ ।