शिवशक्ति उद्योगद्वारा उत्पादित फेमीली तेल गुणस्तरहीन भएको खुलासा

२८ भाद्र २०७४, बुधबार ०४:३५

भदौ २८, काठमाडौं । बारा जिल्लाको जितपुरमा रहेको शिवशक्ति उद्योगमा मंगलबार आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभागले शिलबन्दी गरेको छ । विभागले मंगलबार गरेको अनुगमनका क्रममा अखाद्य तेल उत्पादन गरेर उद्योगले बजारमा बिक्री–वितरण गरेको भेटिएपछि उद्योगमा शिलबन्दी गरिएको हो ।

काठमाडौंबाट गएको विभागको टोलीले उद्योगमा छापा पार्दै अर्को निर्देशन नआएसम्म तेल उत्पादन नगर्न र बजार नपठाउन निर्देशन दिएको छ । उद्योगको उत्पादन फेमीली तोरीको तेल परीक्षणका क्रममा गुणस्तरहीन देखिएपछि विभागका शाखा अधिकृत मोहनकुमार पुडासैनीको नेतृत्वको टोली अनुगमनका लागि पठाएको हो ।

उद्योगको उत्पादन क्षेत्रमा अनुगमन गर्दै टोलीले उद्योगलाई तेल उत्पादन र कारोबारमा रोक लगाएको हो । अर्को निर्देशन नआएसम्म उत्पादन र बिक्रीमा रोक लगाउन निर्देशन दिएको अधिकृत पुडासैनीले जानकारी दिए । उद्योगले फेमीली र साजन तोरीको तेल उत्पादन गर्दै आएको छ ।

गत साउनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फेमिली तोरीको तेलको स्याम्पल लिएर परीक्षण गर्दा तेलको प्यारेक्साईट भ्याल्यू मापदण्डभन्दा बढी फेला परेको थियो । नियमानुसार प्यारेक्साईट भ्याल्यू १० हुनुपर्नेमा ११ दशमलब ५ रहेको पाइएको अधिकृत पुडासैनीले बताए ।

बजारमा बिक्रीका लागि राखिएको फेमीली तेल, साजन, धारा र पतञ्जली तेलको परीक्षण गरिएकोमा फेमीली खानका लागि अनपयुक्त देखिएको पुडासैनीले जानकारी दिए । गत चैतमा उत्पादन भएको तेल ६ महिनासम्म खान उपयुक्त हुने भए पनि चौथो महिनामा परीक्षण गर्ने क्रममा गुणस्तरहीन देखिएको शाखा अधिकृत पुडासैनीले बताए ।

उद्योग राष्ट्रिय प्रजातन्त्र पार्टीका समानुपातिक सांसद राजकुमार अग्रवाल र व्यवसायी सन्दीप कुमार काडियाको हो । अनुगमन टोलीले शिवशक्ति घ्यूमा पनि मिसावट रहेको भन्ने गुनासोका आधारमा अनुगमन गर्न खोजे पनि उद्योगीहरुले अवरोध गरेका छन् ।

उद्योगीले अनुगमनका लागि पुगेको टोलीलाई गेटमै रोक्ने प्रयास गरेका थिए । अनुगमनका लागि विभागको टोली पुगेको सूचना पाएपछि आएका उद्योगीले विभागले रोक लगाउन दिएको निर्देशन पत्रसमेत बुझ्न इन्कार गरेका छन् ।

उद्योगीले अनुगमनमा अवरोध पुर्याएपछि विभागको टोली राति हेटौंडा फर्किएको छ । अनुगमनका क्रममा स्थानीय प्रशासनले आवश्यक सहयोग नगर्दा सोचेअनुरुप अनुगमन हुन नसकेको पुडासैनीले बताए ।  –अनलाईन खबरबाट