दशैका लागि उपत्यकामा मात्रै ८३ करोड रुपैयाँभन्दा बढी खसिबोका भित्रिदै

२५ भाद्र २०७४, आईतवार ०४:४३

काठमाडौं । खसीबोका व्यवसायी तथा खाद्य संस्थानका अनुसार नजिकिदै गरेको दशैंको अबधिमा काठमाडौं उपत्यकामा मात्रै ८३ करोड रुपैयाँभन्दा बढी रुपैयाँको खसिबोका तथा च्याङ्ग्राको कारोबार हुने बताइएको छ । जसमध्ये पनि ५० करोड रुपैयाँभन्दाबढी रकम खसीबोका खरिद गरेबापत भारतमा बाहिरिने सरोकारवाला व्यवसायीहरुको भनाइ छ ।

चौपाया व्यवसायी संघका संरक्षक तथा व्यवसायी दिपक थापाले दशैंमा निजी व्यवसायीहरुले करिब ४० हजार संख्यामा खसीबोका उपत्यकामा भित्र्याउने बताए । त्यस्तै करिब १० हजारको संख्यामा भेडा च्याङ्ग्रा भित्र्याउने उनले अनुमान गरे । “यद्यपि अहिले नै ठ्याक्कै भन्न सकिँदैन आवश्यकताअनुसार खसीबोका र च्याङ्ग्राको खपत घटबढ हुन सक्छ,” उनले भने “दशैंको अबधीमा व्यवसायीहरुले खसीबोकाको अभाव हुन दिने छैन ।”

उनका अनुसार खसीबोकाको औसत मूल्य प्रतिगोटा १४ हजार रुपैयाँ पर्छ । व्यवसायीहरुले मात्रै उपत्यकामा भित्र्याउने खसिबोका ५६ करोड रुपैयाँका रहेका छन् ।

त्यस्तै उनले एउटा च्याङ्ग्राको मूल्य २२ देखि २७ हजार रुपैयाँसम्म पर्ने बताए । औसतमा प्रतिगोटाको २४ हजार राख्ने हो भने, उपत्यकामा १० हजार संख्या भित्रिने अनुमान गरिएको छ । त्यसलाई आधार मान्ने हो भने दशैंको लागि उपत्यकामा करिब २४ करोड रुपैयाँको भेडा च्याङ्ग्रा भित्रिनेछ । सबैलाई जोड्ने हो भने यो दशैंमा निजी व्यवसायीले मात्रै ८० करोड रुपैयाँ बराबरको खसीबोका, भेडाच्याङ्ग्राको कारोबार गर्ने संरक्षक थापाको भनाइ छ ।

त्यस्तै नेपाल खाद्य संस्थानले ३ करोड ३१ लाख रुपैयाँको खसीबोका उपत्यकामा भित्र्याउने संस्थानका प्रवक्ता शंकर सापकोटाले बाह्रखरीलाई बताए । सो रकम बराबरको १ हजार ५ सय संख्यामा खसीबोका र १ हजारको संख्यामा च्याङ्ग्रा भित्र्याउने उनको भनाइ छ । “संस्थानले यो वर्ष गएको वर्षभन्दा केहि कम चौपाया ल्याउन लागेको हो,” उनले भने “गएको वर्ष हामीले २ हजार ८८४ ओटा भित्र्याएका थियौं ।” उनका अनुसार संस्थानले भित्र्याउने खसीबोका र च्याङ्ग्राको मूल्य निजी क्षेत्रकोभन्दा १०÷१५ रुपैयाँ कमि हुनेछ । खसीबोका दाङ्ग र मकवानपुरदेखि भने, च्याङ््ग्रा मुस्ताङ्गदेखि ल्याउने प्रवक्ता सापकोटाको भनाइ छ ।

संरक्षक थापाले व्यवसायीहरुले दशैंको लागि भित्र्याउने खसी बोका ९० प्रतिशत भारतबाट ल्याइने बताए । “सरकारले स्वदेशमा नै खसीबोकाको उत्पादन बढ्यो भन्छ,” उनले रुष्ट हुँदै भने “दशैं जस्तो चाडपर्वमा भारतमै निर्भर हुनुपर्छ । खै उत्पादन बढेको ?” उनका अनुसार भारतबाट ठूलो संख्यामा खसीबोका ल्याए भन्सार लगायत भेटेनरी चेकजाँच सहज छ । तर नेपालकै विभिन्न जिल्लाहरुबाट उपत्यकामा भित्र्याउन परे विभिन्न झन्झटीलो प्रक्रियाहरु बेहोर्नुपर्छ । त्यसैले उनकाअनुसार सहजताको लागि भएपनि भारतबाटै खसीबोकाहरु ल्याइने गरिएको छ ।

गएको दशैंमा भारतदेखि ८० प्रतिशत मात्र खसीबोका उपत्यकामा भित्रिएकोमा यो वर्ष १० प्रतिशत बढेर ९० प्रतिशत पुग्ने उनको अनुमान छ । त्यसको आधारमा ५० करोड रुपैयाँभन्दा बढीको खसीबोका यो दशैंको लागि भारतबाट भित्रिदै छ । भेडा च्याङ्ग्रा भने, मुस्ताङ्ग र तिब्बतबाट भित्रिने उनले जानकारी दिए ।

व्यवसायीहरुले गएको वर्षभन्दा यो वर्ष खसीबोका भेडा च्याङ्ग्राहरुको मूल्य प्रतिकिलो २०÷२५ रुपैयाँ बढ्ने अनुमान गरेको छ । उनीहरुकाअनुसार गएको वर्ष जिउँदो खसीबोकाको मूल्य ४६० देखि ५०० र च्याङ्ग्राको मूल्य ७ सयदेखि ७५० रुपैयाँसम्म रहेको थियो ।