७० करोड घुस मोलमोलाइमा मुछिएका मिश्रलाई अख्तियारको सात दिने सूचना

१७ भाद्र २०७७, बुधबार ११:२८

तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले घुस मोलमोलाइ गरेको अडियो सार्वजनिक गरेका विजयप्रकाश मिश्रलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिनका लागि बोलाएको छ।

आज सूचना जारी गर्दै अख्तियारले मिश्रलाई अनुसन्धानका लागि बोलाएको हो। ‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीका स्थानीय एजेन्टसँग ७० करोड कमिसनको लागि मोलमोलाइ गरेको भन्ने विषयको अनुसन्धानको सिलसिलामा तपाईसँग बुझ्नुपर्ने भएकाले यो सूचना जारी गरिएको छ’, मिश्रको नाउँमा जारी अख्तियारको सूचनामा उल्लेख छ।

अख्तियारले मिश्रलाई सात दिनभित्र प्रहरी महाशाखामा सम्पर्क राख्न भन्दै त्यतिन्जेल नआएमा कानून बमोजिम हुने जनाएको छ। तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाले प्रेस खरिदमा ७० करोड घुसमा मोलमोलाइ गरेको अडियो मिश्रले सार्वजनिक गरिदिएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए।